धरान ः धरानमा पहिलो पटक राष्ट्रिय फाइट नाइट २०२५ हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान बक्सिङले राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
खेलकुदको सहर धरानमा बक्सिङ खेलको प्रबर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरान फाइट नाइट २०२५ नयाँ बर्षको अवसर पारेर २०८२ वैशाख १२ गते शुक्रबार धरानमा आयोजना गरिएको आयोजक धरान बक्सिङका अध्यक्ष दिपक राईले बताए ।
अध्यक्ष राईका अनुसार, राष्ट्रियस्तरको प्रतियोगिता धरानमा पहिलोपटक आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा कोशी प्रदेशका धरान, धनकुटा, झापा र उदयपुरबाट प्रो खेलाडीहरु सहभागी हुनेछन् भने गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौंबाट खेलाडी आउने अध्यक्ष राईले बताए ।
एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीहरुले सहभागिता जनाउनेछन् । ‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रिय स्तरका खेलाडीहरुबिच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रो फाइटतर्फका विजेता खेलाडिले नगद रु.३५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु.२५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको एमेचरतर्फ नगद रुं ६ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु.३ हजार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उक्त फाइट नाइट बक्सिङ प्रतियोगितामा बक्सिङ खेलमा योगदान पुर्याउनु हुने धरानका राष्ट्रिय तथा अन्तराष्ट्रिय ओलिम्पियन खेलाडिहरुको सहभागिता रहने आयोजक धरान बक्सिङका अध्यक्ष दिपक राईले बताए । प्रतियोगितामा अनुमानित बजेट रु.१५ लाख हुने आयोजकले जनाएको छ ।