धरानमा दुई दिने रोजगार मेला हुदै ,




धरान ः धरानमा दुई दिने रोजगार मेला हुने भएको छ । आज आईतबार धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।


कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने उदेश्यले वैशाख ११ गते र १२ गते “धरान रोजगार मेला २०८२” को आयोजना गरिएको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले बताए ।


धरान पब्लिक हाई स्कुलको खेल मैदानमा हुने उक्त मेलाले साना ठुला रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइनुका साथै स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका रोजगारदाता र बेरोजगार युवाहरूलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखिएको नगर प्रमुख राईको भनाई छ ।
यो मेलाबाट ५ सय युवा ले प्रत्यक्ष रोजगारी पाउने र करिब ५ हजार युवाहरले रोजगारीको अवसर, क्यारियर परामर्श, सीपमूलक तालिम र अन्तरवार्ता जस्ता सेवा प्राप्त गर्ने अपेक्षा लिइएको छ ।


मेलाले स्थानीय युवाको विदेश पलायन रोक्ने र उद्योगको जनशक्ति अभाव पूरा गर्ने ऐतिहासिक पहल हुनेछ । रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने छ भने रोजगारीको खोजीमा भएका युवाहरुलाई विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न सकिने विश्वास गरिएको छ ।
मेलामा प्राविधिक, प्रशासनिक र श्रमिक वर्गका साथै स्थानीय उद्योग, व्यवसाय, तालिम संस्था र वाणिज्य संघहरूको सहभागी रहने आयोजकले जनाएको छ ।