सुनसरीको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ




सुनसरी ः प्रहरीले सुनसरीको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । भारतबाट शङ्कास्पद रूपमा नेपाल प्रवेश गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालयअगाडि शङ्का लागेपछि उनीहरूलाई चेकजाँज गर्दा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा फेला परेको हो ।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका–४ निवासी २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ चिरौली चोक निवासी २० वर्षीय अनोज कुमार उँराव, इटहरी उपमहानगरपालिका–१७ भाटभटेनी नजिकका २० वर्षीय मो. समीर खान र त्यही ठाउँका २० वर्षीय राजेश पुरी, साथै भोक्राहा नरसिंह गाउँपालिका–३ चिरौली चोकका २५ वर्षीय रुपेश कुमार यादव रहेका छन्
राजन बास्तोलाको साथबाट १.८४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। अनोज कुमार उँरावले कम्मरको भागमा कालो रङ्गको प्लास्टिकमा पोका पारेर च्यापी लुकाई ल्याएको अवस्थामा १.२० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो ।
मो.समीर खानले भने आफ्नो मलद्वारको भित्र भागमा कालो रङ्गको प्लास्टिकमा पोका पारेर लुकाई ल्याएको अवस्थामा ५.११ ग्राम ब्राउन सुगर बोकेका थिए भने रुपेश कुमार यादवले लगाएको पेन्टको इलास्टिकको भागमा कालो रङ्गको प्लास्टिकमा पोका पारेर लुकाई ल्याएको अवस्थामा १.५१ ग्राम ब्राउन सुगर फेला परेको हो।

यसरी पक्राउ परेका ५ जनाको साथबाट बरामद गरिएको ब्राउन सुगरको कुल परिमाण ९.६८ ग्राम रहेको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।