सुनसरी ,जेठ ४ — अफ्रिकन स्वाइन फिभरको कारण वराहक्षेत्रमा ३१ बंगुरको मृत्यु भएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित खारखोला क्षेत्र अफ्रिकन स्वाइन फिभरको चपेटामा परेपछि तीन वटा फार्म प्रभावित भएका छन् । हालसम्म ३१ वटा बंगुरको मृत्यु भएको छ भने ६० भन्दा बढी बंगुरमा लक्षण देखिएको ।
नगर पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार पहिलो संक्रमण कुमार विकको फार्ममा देखिएपछि क्रमशः छिमेकी किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको फार्ममा समेत फैलिएको हो। उनले भने, “स्वाइन फिभरको संक्रमण तीव्र गतिमा फैलिन सक्ने भएकाले सतर्कता आवश्यक छ ।”
संक्रमण नियन्त्रणका लागि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला, विराटनगरबाट प्राविधिक टोली परिचालन गरिएको छ। प्रभावित फार्महरूमा औषधी, मल्टी भिटामिन र एन्टिबायोटिक वितरण गरिएको छ। साथै, फार्म सञ्चालकहरूलाई जैविक सुरक्षाका उपायहरू अपनाउन निर्देशन दिइएको अधिकारीले जानकारी दिए ।
पहिलोपटक वराहक्षेत्रमा देखिएको यो रोगको सन्त्रास फैलन नदिन प्रभावित क्षेत्रलाई शिलबन्दी गरिएको छ। साथै, संक्रमण बढ्न नदिन बंगुरको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
प्राविधिकहरूका अनुसार अफ्रिकन स्वाइन फिभर कुनै मानिसमा सर्नेसक्ने रोग होइन। तर, यो अत्यधिक संक्रामक र घातक भएकाले किसानहरूको लागि ठूलो आर्थिक जोखिम निम्त्याउने खालको हो ।