सुनसरी ः विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङलहामु गाउँपालिकाले पर्यटन शुल्कबाट मात्रै १५ करोड बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गाउँपालिकाले गत साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिए ।
उनका अनुसार यो महिनाको जेठ १ गतेदेखि ११ दिनमै ५२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ । गाउँपालिकाले विदेशी पर्यटक बाट प्रति व्यक्ति २ हजार रुपैयाँका दरले पर्यटन शुल्क संकलन गर्दै आएको र उक्त आन्तरिक आम्दानी खुम्बु क्षेत्रको समग्र विकासमा उपयोग हुँदै आएको पालिका अध्यक्ष मिङमा छिरि शेर्पाले बताए ।
लुक्ला, जोरसल्ले र लुक्ला हेलिप्याड गरी तीन स्थानहुादै पर्यटकहरू खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर, थामे उपत्यका, गोक्यो उपत्यका र खुम्बु उपत्यका भ्रमण गर्न विभिन्न मुलुकबाट पर्यटकहरू आउने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए ।
गत साउनदेखि हालसम्म ४५ हजार एक सय १३ जना विदेशी र आठ हजार दुई सय ५७ जना सार्क राष्ट्रका गरी कुल ५३ हजार तीन सय ७० जना पर्यटकहरूले खुम्बु क्षेत्र भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकहरूबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ पर्यटन शुल्क लिने गरिएको गाउँपालिकाले जनाएको छ ।