सुनसरी — सप्तकोशी नदीमार्ग हुँदै गाँजा तस्करी गर्ने प्रयासलाई प्रहरीले सतर्कतापूर्वक विफल पार्दै २०० किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतरा प्रहरी चौकीको संयुक्त टोलीले लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि आज बराहक्षेत्र नगरपालिका–१ अन्तर्गत सप्तकोशी नदी क्षेत्रमा निगरानी बढाएको थियो।
नदीमा बहिरहेका दुईवटा ट्यूब फेला परेपछि प्रहरीले ती ट्यूबलाई पछ्याउँदै कोशी पुलदेखि करिब १ किलोमिटर दक्षिणतर्फको नदी किनारमा ल्याएर खोजतलास गर्यो। जाँच गर्दा ती ट्यूबमा बाँधिएका ८ वटा प्लास्टिक बोरामा प्याक गरिएको २०० केजी गाँजा फेला परेको हो।
बरामद गरिएको गाँजा र ट्यूब हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।