बराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब बढीको बजेट गर्यो सार्वजनिक-



धरान। बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवारले आज सोमबार १६औ नगरसभामा आगामी वर्षका नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै सिमान्तकृत समुदायका महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको बताए ।
उनका अनुसार संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकमसमेत समेटिएको उक्त बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ।
बजेट विवरणअनुसार नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ। यस्तै संघीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, समपुरक अनुदान संघबाट ३ करोड ४१ लाख, विशेष अनुदानबाट ७५ लाख, संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १९ करोड ३४ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट प्रदेश सशर्त अनुदान अन्तर्गत २ करोड ३० लाख ५६ हजार, समपुरक अनुदानबाट १ करोड, वित्तीय समानीकरण अनुदानबाट १ करोड ८२ लाख ५० हजार र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

खर्च विनियोजन
नगरपालिकाले आगामी वर्षका लागि चालु खर्चतर्फ १५ करोड ८८ लाख, वडा कार्यालयहरूका लागि ८ करोड ८० लाख र नगर तर्फको पुँजीगत बजेटमा २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी संघीय सशर्त अनुदानका लागि ४७ करोड १ लाख, प्रदेश सशर्त अनुदानका लागि २ करोड ३० लाख ५६ हजार, संघीय समपुरक अनुदानका लागि ३ करोड ४१ लाख, प्रदेश समपुरक अनुदानका लागि १ करोड र संघीय विशेष अनुदानका लागि ७५ लाख रुपैयाँ बिनियोजन गरेक्क छ।
नगर उपप्रमुखले सिमान्तकृत र पछाडि पारिएका समुदाय, विशेषगरी महिलाहरूका लागि आयआर्जन र सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिने बताए ।