बिर्तामोड । पशुपालन व्यवसायमा किसानहरुले व्यवसायिक रुपमा फड्को मार्न नसकिरहेको बेला बिर्तामोड नगरपालिका अन्तर्गत पशु तथा मत्स्य विकास शाखाले पशु नश्ल सुधारका लागि कृतिम गर्भाधान (एआई) अन्तर्गत सेक्सड सिमेन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको छ ।

नगरपालिकाले दूग्ध उत्पादनमा नगरलाई आत्मनिर्भर र व्यवसायिक बनाउन गाई, भैसींको नश्ल सुधार एवम् उत्पादकत्व वृद्धिका लागि कृतिम गर्भाधान अन्तर्गत सेक्सड सिमेन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको हो ।
किसानले चाहे अनुसारको उन्नत पशुको उत्पादन, बाछीमात्र जन्माउन सकिने, सहज र दूध उत्पादनमा समेत वृद्धि हुने भएकोले सेक्सड सिमेन कार्यक्रम ल्याउने तयारीमा रहेको पशु तथा मत्स्य विकास शाखाका पशु विकास अधिकृत डा. नगेन्द्र खड्काले बताएका छन् ।

‘शाखाले पाइलट प्रोजेक्ट अन्तर्गत सेक्सड सिमेन खरीद प्रक्रिया अगाडि बढाएको छ’ उनले भने, ‘यस प्रविधिबाट बाछीमात्र जन्मन्छ । जसले कृषिकहरुको गोठ वृद्धिसँगै जीवनस्तर उकास्न पनि सहयोग गर्छ ।’
त्यस्तै शाखाले थुनेलो निवारण कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत दूध संकलन केन्द्रमा पुगी दूधको परीक्षण गर्ने, थुनेलो देखिए निःशुल्क औषधि वितरण गर्ने योजना रहेको शाखाले जनाएको छ । जसले दूधमा शुद्धता र किसानहरुलाई राहत पुग्ने शाखाले लक्ष्य रहेको छ ।
बिर्तामोड नगरपालिकाले पशु नश्ल सुधार गर्दै पशु सेवालाई चुस्त बनाउन र टोलटोल सेवा विस्तार गर्न शाखामार्फत पशु प्राविधिकहरुलाई निःशुल्क नाइट्रोजन वितरण गर्दै आएको, पशु कार्यालयमा सेवा लिन आएका किसानहरुलाई ५० रुपैयाँमा नै कृतिम गर्भाधानका लागि उन्नत जातिको वीर्य प्रदान गर्ने गरेको शाखा प्रमुख डा. खड्काले जानकारी दिए ।
उनले कृतिम गर्भाधानबाट सुत्केरी भएको पशुको लागि पोषण प्याकेज सेवा प्रदान गर्दै आएको पनि सुनाए । ‘कृषिकहरुमा कृतिम गर्भाधानप्रति आकर्षण बढाउन पशु पोषण प्याकेज प्रदान गर्दै आएका छौं’ डा. खड्काले भने, ‘कृतिम गर्भाधान गरेको कार्ड, नागरिकता र निवेदन शाखामा दिए हामी पशु सुत्केरी प्याकेज उपलब्ध गराउनेछौं ।’
उनका अनुसार पोषण प्याकेजमा भिटामिन, मिनरल्स, लिभरटोनिक लगायतका पौस्टिक तत्व रहेको छ । उनले पशुमा नश्ल सुधारसँगै बिर्तामोडका किसानहरुको उन्नतिका लागि यी सबै कार्यक्रमहरु ल्याइएको जानकारी दिए ।

त्यस्तै नगर क्षेत्रका किसानले पालिरहेको गाईको बीमा, दूधको बजारिकरण तथा विविधीकरण कार्यक्रम अन्तर्गत चिलिङ भ्याट (चिस्यान मेसिन) वितरण, च्याप कटर, काउ म्याट वितरण गरिएको जानकारी दिए ।
पशु तथा मत्स्य विकास शाखाले पशुहरुको गोवर परीक्षण, पशुको पूर्ण खोप कार्यक्रम गर्ने लगायत विगतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिँदै लगिने शाखाले जनाएको छ ।
त्यस्तै बिर्तामोडमा अधिक मात्रामा माछाको समेत खपत हुँदै आएको छ । स्थानीय किसानले उपभोक्ताको मागलाई धान्न नसक्दा र तुलनात्मक रुपमा भारतीय माछा सस्तो पर्ने हुँदा अधिक मात्रा भित्रने गरेको देखिन्छ । यी कुराहरुलाई मध्यनजर गर्दै शाखाले नगरले क्षेत्रभित्रका माछा किसानहरुलाई विभिन्न समयमा तालिमहरु प्रदान गर्दै आएको छ । माछामा आत्मनिर्भरसँगै स्थानीय उत्पादनलाई जोड दिन यसपटक पनि विभिन्न कार्यक्रमहरु गर्ने शाखाको भनाइ छ ।
शाखाले बाहिरबाट आयात हुने माछालाई न्यूनिकरण गर्न र स्थानीय उत्पादनलाई बढाउन आउँदो आर्थिक वर्षमा माछा शिविर सञ्चालन गर्ने योजना रहेको डा. खड्का बताउँछन् ।
उनका अनुसार प्राविधिकलाई माछा पोखरीमै पुर्याएर जाँच गराउने तथा परामर्श दिने कार्यक्रम तय भएको छ । नगर बाहिरबाट माछा विशेषज्ञहरुलाई ल्याइने र त्यसका लागि शाखाले समन्वय गर्ने बताए ।