झुपडीमा रोगसँग लड्दै रोशनश्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतीको अपिल



धरान : हाडछाला मात्र बाँकी शरीर र मलिन अनुहारसहित ओछ्यानमै लम्पसार परेका ४० वर्षीय रोशन राई अहिले जीवन र मृत्युको दोसाँधमा छन्।
धरान–८, अरुणटोलस्थित सुकुम्बासी बस्तीको सानो झुपडीमा उपचार अभावका कारण उनी यस्तो गम्भीर अवस्थामा घरमै बस्न बाध्य भएका छन्।

विगतमा चारकोशे झाडीबाट दाउरा ल्याएर धरान बजारमा बेच्दै आएका राईको परिवार यही कमाइमा निर्भर थियो। बिहानै जङ्गल पसेर साँझ दाउराको भारी बोकेर फर्कने उनको मेहनतले श्रीमती र छोरीको जीवन चलेको थियो। श्रीमती शान्ति तामाङ घरको काम गर्दथिन् भने कहिलेकाहीं श्रीमानलाई पनि सघाउँथिन्। छोरी शिवानी राई कक्षा ११ मा अध्ययनरत छन्।

बैशाखदेखि रोशनलाई जण्डिसले सताउन थाल्यो। त्यसपछि मृगौलामा पत्थरी देखियो। स्वास्थ्य अवस्थामा क्रमशः गिरावट आउँदै गएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार गराइयो। तर, स्वास्थ्यमा सुधार नआएपछि थप परीक्षण गरिँदा चिकित्सकहरूले कलेजो फेर्नुपर्ने बताए। साथै, मृगौलाको पत्थरी शल्यक्रिया गर्नुपर्ने राय पनि दिए। तर, आर्थिक अभावका कारण उपचार अगाडि बढाउन सकेनन्।
चिकित्सकहरूको अनुसार, लिभर ट्रान्सप्लान्टका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ। “त्यत्रो रकम जुटाउनु त परको कुरा, घरखर्च नै चलाउन मुस्किल छ,” भन्छिन् शान्ति तामाङ। अहिले उनले श्रीमानलाई लिभरसम्बन्धी ट्याब्लेटबाहेक अन्य औषधिहरू दिनसमेत नसकेको बताए ।
छोरी शिवानीका अनुसार, बिरामी बाबुको हेरचाहका कारण उनको अध्ययनमा पनि गम्भीर असर परेको छ। मंगलबार बिहान रोशनको निवासमा पुगेका मजदुर नेता भीमज्वाला राईसँग कुराकानी गर्दै शान्तिले भनिन्, “श्रीमान निको भए कम्तीमा दाउरा बेचेरै भए पनि परिवार चलाउन सकिन्थ्यो, छोरीलाई पढाउन सकिन्थ्यो।”
उनले सबैसंग श्रीमानको उपचारमा सक्दो सहयोग गर्न अपिल गरेकी छन्। नेता राईले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट रोशन राईको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिए। साथै, जो सिधै पीडित परिवारलाई सहयोग गर्न चाहन्छन्, उनीहरूले श्रीमती शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा सम्पर्क गर्न सकिने नेता भीमज्वाला राईले बताए ।