रोशनको परिवारलाई खाद्यान्न सहयोग



धरान :  धरान-८, अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ। 

धरान-१३ स्थित पुनर्जीवन केन्द्रमा कार्यरत युवा अनिष गुरुङले करिब आठ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री रोशन राईको निवासमै पुगेर हस्तान्तरण गरेका हुन।

सहयोग स्वरूप दुई बोरा चामल, सात किलो दाल, दुई किलो चिनी, दश लिटर खाने तेल, पाँच किलो नुन, एक किलो हरियो मटर र तीन बण्डल बिस्कुट रोशन राईकी श्रीमती शान्ति तामाङलाई प्रदान गरिएको हो।

मजदुर नेता भीमज्वाला राईले “बस्तीको कथा” शीर्षकमा सामाजिक सञ्जाल फेसबुकमा राई परिवारको अवस्था सार्वजनिक गरेपछि, अनिष गुरुङले उहाँलाई फोन गरेर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए। अनिष गुरुङले भने, हाललाई खाद्यान्न सहयोग गरेको छु, आगामी दिनमा उनको उपचारमा पनि सक्दो साथ दिनेछु।”

झुपडीमा रोगसँग लड्दै’ तथा ‘श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमतीको बिन्ती’ शीर्षकमा समाचार प्रकाशित भएपछि राई परिवारको पीडादायी अवस्था बाहिरिएको हो। 

दाउरा बेचेर श्रीमान् र एक छोरीको पालनपोषण गरिरहनु भएकी ४० वर्षीय रोशन राईकी श्रीमती शान्ति तामाङका अनुसार, राईलाई बैशाखदेखि जण्डिस र मृगौलामा पथरीको समस्या देखिएको छ। चिकित्सकले उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने बताउँदै झन्डै १५ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छन्। तर आर्थिक अभावका कारण उहाँको थप उपचार सम्भव भएको छैन।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राईको उपचारका लागि पहल गरिरहेको छ। पीडित परिवारलाई सहयोग गर्न इच्छुक व्यक्तिहरूले श्रीमती शान्ति तामाङको मोबाइल नम्बर ९७०८२५५३११ मा सम्पर्क गरी सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए।