सुकुम्बासीको घरमै पुगेर बीपीका निमित्त उपकुलपतिद्वारा बिरामीको जाँच



धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसएसआर) का निमित्त उपकुलपति तथा मुटु-मृगौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव शर्माले कलेजो रोगबाट पीडित धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका रोशन राईको झुपडीमै पुगेका छ्न।

 गम्भीर  अवस्थामा रहेका र आर्थिक अभावका कारण अस्पताल जान नसकेका राईको अवस्थाबारे जानकारी पाएपछि मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा सिधै बस्तीमै पुगेर बिरामिको उपचार गर्न सुरु गरेका छ्न ! 

जाँचपश्चात डा. शर्माले प्रारम्भिक उपचारका लागि आवश्यक औषधि सिफारिस गर्नुभयो र चार दिनपछि अस्पतालमै भर्ना गरी पेटको पानी निकाल्ने प्रक्रिया आवश्यक रहेको जानकारी दिए । उनले उपचारका क्रममा अस्पतालको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छ्न।

‘जनताको डाक्टर’को रूपमा परिचित डा. शर्माले यसअघि कोशी प्रदेशका विभिन्न जिल्लामा करिब ५० हजारभन्दा बढी नागरिकको निःशुल्क मृगौला परीक्षण गरिसकेका छ्न !  ‘केएचडिसी’ कार्यक्रमअन्तर्गत देशका दुर्गम क्षेत्रमा पुगेर सेवा प्रदान गरिरहेका डा. शर्मा पहिलोपटक धरानको सुकुम्बासी बस्ती पुगेका हुन ।

उनलाई बस्तीमा स्वागत गर्दै धरान–८ का वडा अध्यक्ष धनबहादुर राईले यस बस्तीमा यति उच्च तहको विशेषज्ञ डाक्टर पहिलोपटक आएको जानकारी दिए।

“जनताको सेवामा समर्पित चिकित्सकले अवस्था अनुसार काम गर्न सक्नुपर्छ,” डा. शर्माले भने, “म जहिल्यै जनतासँगै रमाउन रुचाउँछु।”

पीडित राईको अवस्था गम्भीर बन्दै गएपछि बिरामीले रगत वान्ता गरेका थिए। अस्पताल लैजान सक्ने परिस्थिति नदेखिएपछि डा. शर्मालाई जानकारी दिई झुपडीमै जाँच गरिदिन आग्रह गरिएको र उनले तत्काल सहर्ष स्वीकार गरी आएका मजदुर नेता राईले जानकारी दिए । उनको उपस्थितिले परिवार मात्र होइन, सिङ्गो टोल नै हर्षित भएको छ,राईले भने।

४० वर्षीय रोशन राईले दाउरा बेचेरै श्रीमती र एक छोरीसहितको परिवार पाल्दै आएका छ्न। विगत बैशाखदेखि जन्डिस र मृगौलासम्बन्धी समस्याले थलिएका उनको कलेजो प्रत्यारोपणका लागि करिब १५ लाख रुपैयाँ लाग्ने चिकित्सकहरूले जानकारी गराएका छन्।

घर धान्नै मुस्किल भइसकेको अवस्थामा त्यो ठूलो रकम कसरी जुटाउने?” पीडितकी श्रीमती शान्ति तामाङले भावुक हुँदै भने।

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पहल गरिरहेको छ। पीडित परिवारलाई सहयोग गर्न चाहने जो-कोहीले शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका भीमज्वाला राईले जानकारी दिए।