धरान ः चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिता आउदो विहीबारदेखि सुरु हुने भएको छ ।
डिपो स्कुलको आयोजनामा तथा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको विशेष सहयोगमा संचालन हुने चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप मा १८ वटा विद्यालय टिम सहभागी हुने भएका छन् ।
उद्घाटन खेल तेस्रो संस्करणका विजेता सियोन स्कुल र उपविजेता प्रभात स्कुलबीच हुनेछ । प्रतियोगिताको खेल तालिका मंगलबार आयोजक समिति, सहभागी टिमका प्रतिनिधि र प्राविधिक सहयोगी सुनसरी बास्केटबल संघको उपस्थितिमा तयार गरिएको हो ।
प्रतियोगिता आगामी साउन १९ गतेसम्म चल्नेछ । यसमा डिपो स्कुलसहित इस्ट होराइजन बोर्डिङ स्कुल झापा, ग्रीनफिल्ड वल्र्ड स्कुल झापा, लिटल फ्लावर स्कुल झापा, हिमशिखर स्कुल तरहरा, पूर्वाञ्चल बोर्डिङ स्कुल तरहरा, प्याराडाइस बोर्डिङ स्कुल तरहरा, माउण्ट हर्मन स्कुल, काम्रेल स्कुल, ब्राइट फ्युचर स्कुल मोरङ, समिती स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा स्कुल, दिल्ली पब्लिक स्कुल, आइडल स्कुल, प्रभात स्कुल, सियोन स्कुल र धरान मेघा हिमालयन स्कुल सहभागी छन् ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरू मात्र सहभागी हुन पाउने छन् ।
विजेता टिमले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी), हाई स्कोरर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि प्राप्त खेलाडीले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
डिपो स्कुलका प्राचार्य राजकुमार राईका अनुसार प्रतियोगिता डिपो स्कुलका पूर्व विद्यार्थी तथा दिवंगत मेजर श्रवणकुमार लिम्बुको सम्मानमा आयोजित गरिँदै आएको हो। डिपो स्कुल व्यवस्थापन समिति सदस्य तथा प्रतियोगिता संयोजक खड्क सम्शेर लिम्बुका अनुसार, मेजर लिम्बुको सम्झनामा चार वर्षदेखि यो प्रतियोगिता संचालन हुँदै आएको छ । प्रतियोगिता आयोजनामा डिपो स्कुल र दिवंगत लिम्बुको परिवारबीच सहकार्य रहेको बताइएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा हुनेछन्। प्रतियोगिताको व्यवस्थापन सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघले गर्नेछ ।