राजनितिक शक्तिको आडमा लागुऔषधको धन्दा



झापा । गत साउन १ गते नेकपा एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष भानुभक्त खरेलको बिर्तामोडमा रहेको दुईवटा गोदामबाट अहिलेसम्मकै ठूलो परिमाणमा प्रहरीले औषधिजन्य लागूऔषध बरामद गर्यो । संचालक खरेलका कामदार विनोद घिमिरे पक्राउ परिरहँदा उनी भने फरार भए ।

त्यसको एक महिना नबित्दै साउन २१ गते राति कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बिष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई राखेको अबस्थामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध पक्राउ पर्यो । एमालेका संगठित सदस्य बगाले नेकपा एमालेबाट निर्वाचित दमक वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापाका भाइ र अहिलेका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका भान्जा हुन् ।

बगालेसंगै दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक गंगाबहादुर खड्का पनि पक्राउ परे । त्यसको भोलिपल्ट बिर्तामोडबाट नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य राजेन्द्र पन्धाक पनि ठूलो परिमाणमा औषधिजन्य लागूऔषधसहित पक्राउ परे ।

यी तीनवटा घटनाले सत्तामा रहेको एमालेको राजनीतिक शक्तिको आडमा लागूऔषधको धन्दामा पार्टीका नेता कार्यकर्ताहरु लागेको प्रमाणित भएको छ ।

बुधवार राति ९ बजे कमल गाउँपालिका वडा नं ६ काटाचोक बस्ने बिष्णुप्रसाद बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३००० , डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २११० र स्पास्पेन २०५० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती लागूऔषधसहित घरधनी बगाले र दमक वडा नं.६ थानारोड बस्ने दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० वर्षीय गंगाबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बगालेको घरको दोस्रो तलाको कोठामा ती प्रतिबन्धित औषधिहरु लुकाएर राखेको थियो । दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

घटनामा संलग्न खड्काले आफूहरुको बिर्तामोडमा समेत प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार हुने गरेको बताएको प्रहरीले जनाएको छ । त्यस स्थानको पहिचान गर्नको लागि लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले इलाका प्रहरी कार्यालय बिर्तामोडसँग समन्वय गर्ने गरी खड्कालाई लिएर आएका थिए ।

बगालेले आफ्नै घरमा फार्मेसी संचालन गरेका थिए । सीएमए पढेका बगालेले बिनाअनुमति सो फार्मेसी संचालन गरेको पाइएको एक प्रहरी अधिकारीले बताए । उनीसंगै पक्राउ परेका खड्का लागूऔषध बिक्री गरेवापत् दुई पटक कार्वाहीमा परिसकेका थिए । उनलाई औषधि व्यवस्था विभागले कार्वाही गरेको थियो ।

त्यस्तै बिर्तामोडमा बिहीवार पक्राउ गरेका पन्धाक लागूऔषध कारोबारी भानुभक्त खरेलको साझेदार भएको खुलेको छ । प्रहरीले बिर्तामोड–५ स्थित कञ्चन टोलबाट ४६ वर्षीय पन्धाकलाई पक्राउ गरेको हो । खरेलसँग व्यावसायिक साझेदारका रुपमा पन्धाकले काम गर्दै आएको बुझिएको छ ।

प्रहरी टोलीले पन्धाकको घरको भुइँतलाबाट माथिल्लो तलाहरुमा जाने सिढी मुनिको खाली भागमा कागजको कार्टुनहरुले छोपी राखेको २० हजार ट्रामाडोल क्याप्सुल बरामद गरेको छ । उनले आफ्नै घरमा पीआर मेडी सप्लायर्स फार्मेसी संचालन गरेको भेटिएको प्रहरीले जनाएको छ ।

गत साउन १ गते बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको गोदामबाट ठुलो परिमाणमा औषधिजन्य लागूऔषध बरामद गरेको थियो । खरेल सञ्चालक रहेको सो गोदामबाट प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको जनाएको थियो । खरेल भारतको दार्जिलिङमा लुकेर बसेको स्रोतले बताएको छ । प्रहरीले प्रतिबन्धित औषधि र लागूऔषधसहित खरेलका स्टाफ अर्जुनधारा–६ दासपुल बस्ने २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो ।

खरेलसंग ती तीनजनाको कनेक्सन भए नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सही रुपमा खोजी र अनुसन्धान गर्ने हो भने झापामा राजनीतिक शक्तिको आडमा लागूऔषधको धन्दा चलाइरहेका अझ धेरै नेता कार्यकर्ता भेटिन्छन् ।