झापा ।बिर्तामोडमा संचालित पाँचतारे होटल किंङ्सवेरीले संचालन गरेको क्यासिनोमा खुलेआम नेपाली नागरिकलाई छिराइने गरेको फेला परेको छ । होटलले संचालन गरेको सेभेन हर्सेस क्यासिनोमा खुलेआम नेपाली नागरिक छिरेर जुवा खेल्ने गरेका तथ्य बाहिरिएको छ।
त्यसमा पनि बिर्तामोड क्षेत्रका ब्यवसायीको संख्या उल्लेख्य रहेको स्रोतको दाबी छ भने केही नेपाली नागरिक क्यासिनो छिरेर जुवा हानेको भिडियो फुटेज समेत दृश्य अनलाईनलाई प्राप्त भएको छ ।
क्यासिनोका कारण अधिकांश झापाका स्थापित व्यवसायी टाट पल्टिएर पलायनसम्मको स्थितिमा पुगेका छन् भने कतिपयले आत्महत्यासम्म गरेका घटना बाहिरिएका छन् ।
होटल किङ्सवेरीमा नेपालीलाई प्रवेश गराएर खुलेआम क्यासिनो खेलाउँदै आएको भन्दै बिर्तामोडका केही व्यवसायीले प्रमुख जिल्ला अधिकारीसम्मलाई ध्यानाकर्षण गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले क्यासिनोका वारेमा पटक– पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
उनले पत्रकार सम्मेलनमा समेत सार्वजनिक रुपमै होटल किङ्गसबरीमा खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो खेलाएको भन्दै खबरदारी गर्न आग्रह गरेका थिए ।
होटल तथा क्यासिनोका संचालक रबि धितालले भने नेपाली नागरिक क्यासिनो छिर्ने गरेको अस्विकार गरेका छन। उनले नेपाली नागरिक क्यासिनो नछिरेपनि आफुलाई केही असर नपर्ने दाबी गरे । तर, बिना कुनै कागजात चेकजाच नगरी जोसुकै पनि मनलाग्दी क्यासिनो छिरेको देख्न सकिन्छ ।