देउसी भैलोबाट संकलित रकमले खानेपानी संसथान्को जग्गा खरिद-Drishya Online



अजेन्द्र वाईबा तामाङ्ग

फिदिम। पाँचथरको फिदिम खानेपानी उपभोक्ता समितिले देउसी–भैलो खेलेर संकलन भएको रकमबाट मुहान क्षेत्रमा रहेको जग्गा खरिद बापतको बाँकी ऋण चुक्ता गरि उदाहरण प्रस्तुत गरेको छ। गत आइतबार फिदिममा आयोजित एक समारोहका बीच उक्त कुरा सार्बजनिक गरिएको हो।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गएको तिहारमा मुहान क्षेत्रमा बिग्रिएको पाइपलाइन मर्मत र जग्गा खरिदका लागि देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको थियो । देउसी–भैलोबाट उठेको ११ लाख ५९ हजार ६१ रुपैयाँ मध्येबाट बचेको रकम प्रयोग गरी समितिले रिजर्भ ट्याङ्की क्षेत्रको १२ आना जग्गाको बाँकी ७ लाख रुपैयाँ चुक्ता गरेको हो ।

कूल ३० लाख रुपैयाँमा खरिद गर्ने निर्णय भएको उक्त जग्गाको रकम बुझाएपछि अब जग्गा पास गर्ने प्रक्रिया अगाडि बढेको सहसचिव डने शेर्पाले जानकारी दिए। देउसीबाट बचेको बाँकी रकम असोज १८ गतेको बाढीले बिगारिएको पाइपलाइन मर्मतमा लगानी गर्ने निर्णय भएको शेर्पाले बताए।

असोज १८ र १९ गते आएको अविरल वर्षा र बाढी–पहिरोले आप्तेवा खोलाको मुहानबाट आउने पाइपलाइन १३ ठाउँमा बगाएपछि फिदिम खानेपानीको आपूर्ति प्रणाली ध्वस्त भयो।समितिका अध्यक्ष प्रकाश गुरुङका अनुसार, यस्तो विषम परिस्थितिमा पनि फिदिम नगरपालिकाबाट कुनै सहयोग प्राप्त नहुँदा समस्या झनै बढ्यो।

निर्वाचित हुनुअघि फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले खानेपानी समस्या समाधान गर्ने र निर्वाचित भएपछि ५० प्रतिशतसम्म महसुल छुट दिने घोषणा गर्दै आएका थिए। तर, हालसम्म कुनै सहयोग प्राप्त नभएको अध्यक्ष गुरुङले जानकारी दिए। बजेट अभावले अहिले फिदिम–१, २ र ४ का २ हजार ९ सय ६४ मध्ये २ हजार ३ सय ३४ घरधुरीलाई १३ विभिन्न खोलाखोल्सीबाट वैकल्पिक रूपमा पानी खुवाइँदै छ। तर, अहिले खोला सुक्न थालेकाले थप सङ्कट आउने जोखिम बढेको छ।

अध्यक्ष गुरुङको नेतृत्वमा १७ वर्षपछि निर्वाचित नयाँ कार्यसमिति आएपछि भने उपभोक्तालाई धेरै राहत मिल्यो। पुरानो ४ वटा मुहानमा थप १३ वटा नयाँ मुहान थप गरिएकोले अहिले २४ सै घण्टा पानी वितरण भइरहेको छ। बजार क्षेत्रको न्यूनतम महसुल २८५ बाट २४६ रुपैयाँ र गाउँ क्षेत्रको २२१ रुपैयाँ घटाइएको छ। उपभोक्ताले १० हजार लिटरको शुल्कमा २ हजार लिटर थप पानी पाउने र घर निर्माणमा ५ हजार लिटर पानी छुट गरिएको छ। हाल सञ्चालनमा रहेको ४ लाख ५० हजार लिटरको रिजर्भ ट्याङ्कीलाई २४ लाख ५० हजार लिटर क्षमताको बनाउने लक्ष्य राखिएको छ। समितिको नाममा रहेको २० लाख रुपैयाँ ऋण समेत घटाइँदै लगेको अध्यक्ष गुरुङले बताए