जिफन्टसँग श्रमिकको गुनासोः महँगी बढ्यो, ज्याला बढेन



धरान : मजदुर बहुल धरानका विभिन्न क्षेत्रका श्रमिकहरूसँग जिफन्टले श्रमिक–सम्वाद कार्यक्रम गरेको छ।

निर्माण मजदुर, यातायात मजदुर, उद्योगमा कार्यरत मजदुर, अटो–मेकानिक्स, सुरक्षा श्रमिक, सरसफाइ मजदुर, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयमसेवी तथा सौन्दर्यकर्मी मजदुरसँग सम्वाद गरिएको हो।

शनिबार जिफन्ट नगर समितिले आयोजना गरेको कार्यक्रममार्फत स्वास्थ्य स्वयमसेवी मनकुमारी लिम्बूले वर्षौँदेखि आफूहरूले मात्र चार सय रूपैयाँ भत्तामा काम गर्नुपरेको गुनासो राखिन्।

“हामीले दिनरात घाम–पानी छिचोल्दै काम गरेका छौँ, तर स्थानीय, प्रदेश र संघ—कसैले पनि स्वयमसेवीको आवाज सुनेको छैन। हाम्रो विषयमा जिफन्टले बोलिदिनुपर्छ,” उनले भनिन्।

त्यसैगरी लोड–अनलोड मजदुर अमर राईले उद्योगी–व्यवसायीको दबाबमा एउटै ज्यालामा वर्षौँ काम गर्नुपरेको पीडा पोखे।

“उपभोग्य वस्तुको भाउ दिनदिनै बढ्छ, तर हाम्रो ज्याला बढ्दैन। थोरै ज्यालामा हामीले कहिलेसम्म श्रम बेचिरहनु ? जिफन्टले तत्काल श्रमको दर–रेट निर्धारणका लागि पहल गर्नुपर्छ,” राईले माग गरे।

निर्माण मजदुर मुक्तिनाथ गिरीले सम्वादमा बोल्दै निर्माण क्षेत्रको श्रमिक सूचिकरण नै नगर सरकारका कारण अवरुद्ध भएको बताए।

“धरानमा कति निर्माण मजदुर छन् भन्ने तथ्यांक नै छैन। उनीहरूले पाउने ज्याला कति भन्ने स्थानीय सरकारले निर्धारण गर्न सकेको छैन। अब सबै मजदुर मिलेर नगर सरकारसँग पहल गर्नुपर्छ, जिफन्टले यसको नेतृत्व गर्नुपर्छ,” गिरीले भने।

त्यसैगरी अटो–मेकानिक्स मजदुर हरी भट्टराईले विद्युतिय सवारीसाधनको आयात बढेसँगै मिस्त्रीहरू बेरोजगारीतिर धकेलिन थालेको बताए।

“स्थानीय सरकारको नीति अस्पष्ट हुँदा भारतीय नागरिकहरू दैनिक धरान आएर काम गर्छन् र साँझ भारत फर्कन्छन्। यसले स्थानीय श्रमिकको रोजगारीमा ठूला चुनौती उत्पन्न गरेको छ,” उनले भने।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा श्रमिकसँग सम्वाद कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा उठेका प्रश्नहरूको योजना–सहित उत्तर जिफन्ट उपाध्यक्ष विदुर कार्की, सचिव बेलीमाया घले तथा सदस्य भीमज्वाला राईलगायत नेताहरूले प्रस्तुत गरेका थिए।

कार्यक्रम जिफन्ट नगर अध्यक्ष समशेर बर्देवाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको औचित्यबारे मजदुर नेता भीमज्वाला राईले प्रष्ट पारेका थिए।

जिफन्ट उपाध्यक्ष तथा अभियानका कोशी संयोजक विदुर कार्की मुख्य अतिथि रहेका कार्यक्रममा धरानका ४५ जना अगुवाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव डम्बर अधिकारीले गरेका थिए।