धरान : कोशी एक्सिलेन्स अवार्ड २०२६ हुने भएको छ ! थप तीन नयाँ विधासहित आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड सिजन २ का लागि तयारी सुरु भएको फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए !
कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरिएको उनले बताए।
अध्यक्ष अधिकारीले भने,अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स लगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उहाले बताउनुभयो। जुन अवार्ड शिक्षा क्षेत्रबाट प्रा.डा. टङ्क न्यौपाने, स्वास्थ्य क्षेत्रमा ज्ञानेन्द्रमान सिंह कार्की, साहित्य क्षेत्रमा झमककुमारी घिमिरे, बैंकिङ क्षेत्रमा ज्ञानेन्द्र ढुङ्गाना, पर्यटनक्षेत्रमा भविष श्रेष्ठ, कर्पोरेटबाट महेश जाजु, आइटीबाट राजन लम्साल, स्टार्टअपबाट आयुष भगत, कृषि उद्यमबाट शान्ता बास्कोटा, सामाजिक अभियन्ताबाट गीता गौतम, खेलकुदबाट दिलिप राई र पत्रकारिताबाट विष्णु निस्ठुरीलाई अवार्ड प्रदान गरिएको उनले जानकारी दिए।
त्यसै गरि विशिष्ट योगदानकर्तामध्ये पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमज्वाला राई, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल र कामधेनु दुग्ध विकास सहकारीलाई सम्मान प्रदान गरिएको थियो।
अवार्डलाई थप विश्वासिलो र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए ! नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छ्न भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए।
कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका अनुसार, कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य हो। उनले भने
यो वर्षको कार्यक्रम नयन मिडिया फाउन्डेशनमार्फत आयोजना हुने भएको छ भने व्यवस्थापन इटहरीस्थित काफल्सले गर्नेछ। कार्यक्रम राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ !


