चलचित्र “गाउँ आएको बाटो” चर्चा हङकङको युनिभर्सिटीमा,



धरान : नविन सुव्वा द्वारा निर्देशित चलचित्र “गाउँ आएको बाटो” हङकङस्थित हङकङ एकेडेमी अफ आर्ट्स फर परफर्मिङको फिल्म विभागका विद्यार्थीहरूलाई अध्ययनका लागि विशेष रूपमा प्रदर्शन गरिएको छ।

हङकङको सिनेमाघरमा फिल्म हेरेपछि तथा हङकङका पत्रकारहरूले लेखेका समीक्षाहरू अध्ययन गरेपछि विश्वविद्यालयका प्रोफेसरहरूको सिफारिसमा उक्त चलचित्रलाई कक्षागत अध्ययनका लागि प्रदर्शन गरिएको निर्माता अमोद राईले जानकारी दिए। उनका अनुसार हङकङको बक्स अफिसमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्रका रूपमा “गाउँ आएको बाटो”ले इतिहास रचेको छ। साथै, विश्वविद्यालयका फिल्म विद्यार्थीहरूलाई अध्ययनका लागि देखाइएको पहिलो विदेशी चलचित्र बन्न पनि सफल भएको उनले बताए।

करिब तीन दर्जन विद्यार्थी र प्रोफेसरहरूले विश्वविद्यालयकै आफ्नै थियटरमा चलचित्र हेरेका थिए। प्रदर्शनपछि चलचित्रका निर्माता अमोद राईसँग फिल्म निर्माणका विद्यार्थी तथा प्रोफेसरहरूले करिब एक घण्टा अन्तरक्रिया गरेका थिए। उक्त अन्तरक्रियामा चलचित्रको निर्देशन, छायांकन, निर्माण, अभिनय, सम्पादन, ध्वनि लगायतका पक्षहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विश्वविद्यालयका प्रोफेसर सिन यीम र बर्न लोले मध्यस्थकर्ताको भूमिका निभाए।

गाउँमा शहरीकरणसँगै बढ्दो सुविधाले त्यहाँको मौलिकता, पहिचान र संस्कृतिमा पर्ने प्रभावलाई कथानकका रूपमा प्रस्तुत गरिएको “गाउँ आएको बाटो” विदेशको बक्स अफिसमा प्रदर्शन हुने पहिलो नेपाली चलचित्रसमेत भएको निर्माता राईले उल्लेख गरे। हङकङसँगै बेलायत (यूके) र थाइल्यान्डमा समेत यसले बक्स अफिस रिलिज पाएको थियो। गुणस्तरीय नेपाली चलचित्र निर्माण गर्न सके विदेशी हलहरूमा पनि व्यावसायिक रूपमा प्रदर्शनको सम्भावना बढेको उनले बताए।

यसअघि चलचित्र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, बुसान साउथ कोरिया, साओ पाउलो ब्राजिल, गोटनबर्ग स्विडेन, मुम्बई भारत र चीनको बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन भइसकेको छ।

नेपालमा सुपरहिट बनेको “गाउँ आएको बाटो”मा कलाकार दयाहाङ राई, पशुपति राई, बाल कलाकार पसन राई र प्रेम सुव्वाले मुख्य भूमिका निभाएका छन्। चलचित्रको अधिकांश छायांकन भोजपुरमा र केही दृश्य धरानमा गरिएको हो।