उद्योग वाणिज्य संघ बिर्तामोडका पुर्व अध्यक्षहरु सम्मानित



बिर्तामोड झापा । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । संघको ४४औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरिएको थियो । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरेका थिए ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले कार्यक्रममा सहभागीहरूलाई शाब्दिक स्वागत गरेका थिए ।
संघका अध्यक्ष न्यौपानेले पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाइएको उल्लेख गर्दै २०३८ सालमा स्व. मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको संघलाई आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याएका पूर्व अध्यक्षहरुप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा ‘द भ्वाइस किड्स सिजन ४’ का फर्स्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँलगायत, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि  ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै, जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरे ।
कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।