कोशी प्रदेश प्रहरी प्रमुखद्वारा सुनसरी जिल्ला प्रहरी कार्यालयको निरीक्षण,



धरान : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले आज जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गरेका छन्। 

निरीक्षणका क्रममा उनले कार्यालय तथा यसको मातहतका सबै शाखा र प्रहरी इकाइहरूको अवस्थाबारे जानकारी लिँदै उपस्थित प्रहरी अधिकृत तथा जवानलाई आवश्यक निर्देशन दिएका छन्।

डीआईजी घिमिरेले जस्तोसुकै कठिन परिस्थिति र चुनौती आए पनि कुनै दबाब, प्रभाव वा प्रलोभनमा नपरी व्यक्तिगत हितभन्दा माथि उठेर संगठनको गरिमा कायम राख्दै नागरिकमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन्।

उनले प्रहरीको दैनिक काम–कारबाहीलाई थप चुस्त–दुरुस्त बनाउँदै शान्ति–सुरक्षालाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने बताएका थिए। खुलेको सिमानाका कारण हुन सक्ने विभिन्न आपराधिक क्रियाकलाप, चोरी–तस्करी तथा लागुऔषध ओसार–पसारका घटनालाई नियन्त्रणमा लिन कडाइका साथ चेकजाँच व्यवस्था मिलाउन उनले निर्देश दिए।

सेवाग्राहीको पिरमर्का प्राथमिकतामा राखी प्रविधिमैत्री सेवा प्रदान गर्न पनि उनले कार्यालयलाई निर्देशन दिएका थिए।

यस्तै, भित्री ग्रामीण बस्तीमा बसोवास गर्ने नागरिकका समस्या सुन्ने, आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन उनले जोड दिए। आउँदो निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन प्रत्येक प्रहरीले आफ्नो पदअनुसार त्रुटिरहित रूपमा जिम्मेवारी निभाउनुपर्ने उनले बताए।