धरान : सातौँ कोशी प्रदेश अन्तर विद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आज सोमबार सम्पन्न दुई क्वार्टरफाइनल खेलबाट आयोजक नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन्।
नेपाल पुलिस स्कुल धरानको खेलमैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा आयोजक नेपाल पुलिस स्कुल (रातो) ले निदि सेकेण्डरी स्कुल, विर्तामोड झापालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

खेलको पहिलो हाफको ९औँ मिनेटमा निदि सेकेण्डरी स्कुलका जर्सी नं. ७ का आदर्श मेचेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको २४औँ मिनेटमा नेपाल पुलिस स्कुलका जर्सी नं. ९ का उज्वल थापाले बराबरी गोल फर्काए थिए। दोस्रो हाफको ४५औँ मिनेटमा आयोजक टिमका कप्तान जर्सी नं. १० का समिर राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए।
खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) नेपाल पुलिस स्कुलका कप्तान समिर राई घोषित भए। उनलाई प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १ हजार ५ रुपैया र मेडल प्रदान गरेका थिए।
यसैगरी,आजै सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल, सुन्दरहरैँचा मोरङले माउण्ट हर्मन एकेडेमी, धरानलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको छ।
निर्धारित समय (३५–३५ मिनेट) सम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं. ९ का अनिस राई, जर्सी नं. १६ का निपेश तामाङ र जर्सी नं. ५ का कमल कार्कीले गोल गरेका थिए भने जर्सी नं. ११ का जेम्स देवान र जर्सी नं. १ का आयुष लिम्बू गोल गर्न सकेनन।
माउण्ट हर्मन एकेडेमीका जर्सी नं. ९ का सुदिन तामाङ र जर्सी नं. १५ का प्रिन्स बिष्टले गोल गरेका थिए भने जर्सी नं. १० का सिकुम लावती, जर्सी नं. ४ का राजदिप तामाङ र जर्सी नं. २१ का सुवर्ण लोहनीले गोल गर्न सकेनन्।
उक्त खेलका म्यान अफ द म्याच सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं १ का गोलरक्षक आयुष लिम्बू घोषित भए। उनलाई पनि प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद रु. १ हजार ५ रुपैयाँ र मेडल प्रदान गरेका थिए।
नेपाल पुलिस स्कुल धरानको आयोजनामा यहि पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशीका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको छ।
भोलि मंगलबार हुने पहिलो क्वार्टरफाइनल खेलमा प्रभात सेकेण्डरी इङ्लिस स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगरबिच हुने छ भने दोस्रो खेल नेपाल पुलिस स्कुल धरान (निलो) र पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ !


