धरान : नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन निस्तेज पार्ने तयारी गरिरहेको आरोप लगाइरहँदा सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूले बैठक बसी विशेष महाधिवेशन अनिवार्य रूपमा हुनुपर्ने र त्यसमा सहभागिता जनाउने निर्णय गरेका छन्।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले पुस मसान्तभित्रै विशेष महाधिवेशन आयोजना गर्नुपर्ने र उक्त विशेष महाधिवेशनमा सुनसरी क्षेत्र नं. १ बाट सहभागिता जनाउने निर्णय गरेको हो।
सभापति तामाङका अनुसार गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले उठाएका सुशासन, भ्रष्टाचारको अन्त्य र वाक् स्वतन्त्रतासहितका शासकीय सुधारका मागहरूलाई विश्वासिलो ढंगले अपनत्व ग्रहण गर्दै पार्टीभित्र सशक्त रूपमा उठेका रूपान्तरण र पुस्तान्तरणका आवाजलाई सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बलियो जनमत प्राप्त गर्न, जेनजी आन्दोलनपछि उत्पन्न विषम राजनीतिक परिस्थिति र पार्टीको चार वर्षे कार्यकाल समेत सम्पन्न भइसकेको अवस्थालाई मध्यनजर गर्दै नीति र नेतृत्व परिवर्तन आवश्यक रहेको ठहर गरेको छ। विधानको धारा १७(२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आम निर्वाचनअघि नियमित महाधिवेशन गर्न वा विशेष महाधिवेशन गर्न माग गरेको भए पनि त्यसलाई बेवास्ता गर्दै २०८२ पुस २६–२८ मा तोकिएको नियमित महाधिवेशनसमेत नगरी २०८३ वैशाख २८–३१ मा सारिएकोप्रति बैठकले आपत्ति जनाएको छ।
बैठकले यसलाई बहुमत महाधिवेशन प्रतिनिधिहरूको भावना र पार्टी विधानमाथि केन्द्रीय कार्यसम्पादन समितिले अलोकतान्त्रिक खेलवाड गरेको ठहर गरेको सभापति तामाङले जानकारी दिए ।
त्यसैगरी बैठकले विगतका निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन गरी फरक–फरक चुनाव चिह्नमा फरक दलका उम्मेदवारलाई मतदान गर्नुपर्दा मतदाता र कार्यकर्तामा निराशा छाएको र संगठनमा समेत प्रतिकूल असर परेको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
बैठकले पार्टीले हालै सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति समेत असन्तुष्टि व्यक्त गरेको छ। पटक–पटक सांसद र मन्त्री भएका तथा निरन्तर अवसर पाएकाहरूलाई प्राथमिकता दिइएको भन्दै बन्दसूची संशोधन गरी पार्टीमा कहिल्यै अवसर नपाएका, निरन्तर त्याग र योगदान गर्दै आएका व्यक्तिहरूलाई प्राथमिकताका साथ अवसर दिन माग गर्ने निर्णय भएको सभापति तामाङले बताए। साथै सुनसरी क्षेत्र नं. १ को हकमा पार्टीको नीति र सिफारिस अनुसार उम्मेदवार छनोट गर्नुपर्ने मागसमेत बैठकले गरेको छ।
बैठकमा कोशी प्रदेश महामन्त्री एवं महासमिति सदस्य उमेश थापा, महासमिति सदस्यहरू चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राई, सुवास राई, श्यामा रेग्मी र जगतबहादुर कार्की तथा महाधिवेशन प्रतिनिधिहरू चन्द्रशेखर लामा, सन्दीप श्रेष्ठ, विकास आचार्य, ललिता शर्मा अधिकारी, दिपेशजंग बस्नेत र पूजा धामीले आफ्ना धारणा राखेका थिए।
त्यसैगरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा क्षेत्र नं. १(१) का सभापति अनिल श्रेष्ठ, प्रदेशसभा क्षेत्र नं. १(२) का सभापति मुरारीप्रसाद भट्टराई, धरान नगर सभापति श्याम पोखरेल लगायतले पनि बैठकमा आफ्ना विचार राखेका थिए।
बैठकमा कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सन्तोष वि.क., महासमिति सदस्य कृष्णकला मादेन, महाधिवेशन प्रतिनिधिद्वय निलकुमारी गिरी थापा र रवि राई, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई (प्रविन), क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राईलगायतको उपस्थिति रहेको थियो।


