लिम्बु चलचित्र ‘सेमिफुङ’ हङकङमा प्रदर्शन हुने



धरान :याक्थुङ फिल्म्सको ब्यानरमा निर्माण गरिएको लिम्बु भाषाको चलचित्र ‘सेमिफुङ’ हङकङमा प्रदर्शन हुने भएको छ। याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा चलचित्र हङकङमा प्रदर्शन गर्न लागिएको हो।
निर्देशक रणवीर लिम्बु शेर्माद्वारा निर्देशित चलचित्र ‘सेमिफुङ’ लिम्बु समुदायको मौलिक संस्कार, संस्कृति र परम्परामा आधारित छ। चलचित्रमा निर्माता समेत रहेका बविन आङदाम्बे, चन्दा थेगिम, सतिका सुव्वा, सिडी वेघा, निर्मला देवान, सङ्गीता लावती, त्रिभुवन लुङफुङ्बा लगायतको मुख्य अभिनय रहेको छ।
हङकङस्थित याउ मा तेइ कम्युनिटी हलमा आगामी फेब्रुअरी १ तारिखका दिन चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। चलचित्रले लिम्बु समुदायको संस्कार, संस्कृति र रीतिरिवाजमा आधुनिकता तथा सामाजिक विभेदले पारेको प्रभावलाई चित्रण गरेको कलाकार सङ्गीता लावतीले जानकारी दिइन्।
नेपाली (खस) र लिम्बु दुवै भाषामा तयार गरिएको चलचित्र ‘सेमिफुङ’को अर्थ ‘उज्यालो फूल’ रहेको उनले बताइन्। लिम्बु समुदायको संस्कार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्रलाई विदेशका विभिन्न शहरमा प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ। हङकङमा यसको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन हुन लागेको हो। हङकङपछि बेलायत, दक्षिण कोरिया लगायतका देशमा पनि प्रदर्शनको तयारी भइरहेको लावतीले बताइन्।
बविन आङदाम्बे र शेरबहादुर पतङवाको निर्माणमा बनेको चलचित्र ‘सेमिफुङ’को पटकथा तथा संवाद राज थापा काउचाले लेखेका हुन्। चलचित्रको छायांकन विक्रम डीसी, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङले गरेका छन्। इलाम जिल्लाको माङसेबुङ क्षेत्रमा छायांकन गरिएको चलचित्रमा गायक डिल्ली फोम्बो र अशोक लोहोरुङको संगीत रहेको छ।
चलचित्र निर्माणमा करिब ५५ लाख रुपैयाँ लगानी भएको निर्माण पक्षले जनाएको छ।