झापा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तेह्रथुमबाट आगामी प्रतिनिधिसभा सदस्यका लागि रणध्वज कन्दङ्वा लिम्बूलाई उम्मेदवार बनाएको छ । पार्टीले पहिलो संविधानसभा सदस्यसमेत रहेका लिम्बूको उम्मेदवारीलाई टुंग्याएको हो ।
को हुन् लिम्बू ?
रणध्वज कन्दङ्वा लिम्बू विसं २०२९ सालमा झापामा भएको झापा आन्दोलनसगै कम्युनिस्ट बिचारधाराबाट प्रभावित बनेका थिए । उनले २०३४ सालको मंसिरबाट क्याम्पसको विद्यार्थी संगठनमा आवद्ध भएर आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाएका हुन् । अनेरास्ववियु एकताको पाचौं हुँदै नेकपा माले, एमाले हुँदै २०६९ सालसम्म उनी नेकपा एमालेको राजनीतिमा सक्रिय रहे।
उनले पार्टीको जिल्ला सदस्य, जिल्ला सचिव, अञ्चल सदस्य, अञ्चल सचिव हुँदै दुई कार्यकाल एमालेको केन्द्रिय सदस्यको जिम्मेवारी सक्रियतापूर्वक पूरा गरे ।
लिम्बू पहिलो संविधानसभा सदस्यसमेत हुन् ।
उनी २०७० संघीय समाजवादी पार्टीको केन्द्रिय अनुशासन समितिको सभापति समेत बनेका थिए । २०७१/७२ बाट संघीय समाजवादी फोरम नेपालको महासचिव, केन्द्रिय कार्यालय प्रमुखको समेत उनले कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले २०७७ बाट जनता समाजवादी पार्टीमा रहँदा प्रदेश नम्बर १ को इन्चार्ज, केन्द्रिय पार्टी स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखको भूमिका निर्वाह गरेका छन् ।
२०८१ सालको सुरुवातबाट जनता समाजवादी पार्टीको केन्द्रिय उपध्यक्ष, प्रशिक्षण तथा स्कुल बिभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका लिम्बू हाल नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएर राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी राजनीतिसँगै विभिन्न सामाजिक गतिविधिमा समेत क्रियाशील छन् ।


