धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै



धरान : खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा राष्ट्रिय स्तरको बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बक्सिङ संस्थाको आयोजनामा यही माघ २३ गते धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितालाई सांगीतिक तथा सांस्कृतिक कार्यक्रममार्फत आकर्षक बनाइने आयोजकले जनाएको छ ।

धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको हो ।

प्रतियोगितामा खेलाडीहरूले प्रोफेसनल र एमेचर गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रोफेसनल प्रतिस्पर्धामा कोशी प्रदेशअन्तर्गत धरान, धनकुटा, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी क्लबका खेलाडी सहभागी हुनेछन् । यस्तै बागमती प्रदेशबाट काठमाडौं र मकवानपुरका खेलाडीहरूको सहभागिता रहनेछ । एमेचर विधातर्फ धरान, धनकुटा, उदयपुर र झापाका खेलाडी सहभागी हुनेछन् ।

फाइट नाइटमा महिला तथा पुरुष राष्ट्रिय बक्सिङ खेलाडीहरूको प्रदर्शनी खेलसमेत समावेश गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ विजेताले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । एमेचर विधातर्फ विजेताले नगद १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।