लागूऔषध मुद्दा: खरेलले पाए सफाइ, ‘कामदार फसाइयो’ भन्दै स्थानीयको गुनासो



झापा । लागूऔषध कारोबार मुद्दामा पक्राउ परेका बिर्तामोड–५ का भानुभक्त खरेल लाई झापा जिल्ला अदालत ले निर्दोष ठहर गर्दै सफाइ दिएको छ। अदालतको आदेशसँगै उनी कारागारमुक्त भएका छन्। तर फैसलापछि स्थानीय तहमा विभिन्न किसिमका गुनासा र आशंकाहरू सार्वजनिक हुन थालेका छन्।

गत साउन १ गते बिर्तामोड–५ मङ्गलदिप टोलस्थित भाडाको गोदाममा प्रहरीले छापा मार्दा करिब ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको ट्रामाडोललगायत लागूऔषध बरामद गरेको थियो। घटनास्थलबाट खरेलका कामदार २५ वर्षीय विनोद घिमिरे पक्राउ परेका थिए। उक्त मुद्दामा न्यायाधीश लोकबहादुर हमाल को इजलासले घिमिरेलाई दोषी ठहर गरेको छ।

फैसलापछि केही स्थानीयवासीले भने “मूल दोषी उम्किए, कामदार फसाइयो” भन्ने गुनासो व्यक्त गरेका छन्। उनीहरूले प्रभाव र पहुँचका आधारमा निर्णय प्रभावित भएको आशंका गर्दै ‘पैसाको चलखेल भएको हुन सक्ने’ दाबी गरेका छन्। यद्यपि, यी आरोपहरूलाई आधिकारिक रूपमा पुष्टि गरिएको छैन।

जिल्ला प्रहरी कार्यालय झापा का स्रोतका अनुसार अदालतले प्रमाण र कानुनी प्रक्रियाका आधारमा फैसला गरेको हो। अदालत पक्षबाट पनि प्रमाणको मूल्याङ्कनपछि नै निर्णय गरिएको जनाइएको छ।

खरेल नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापा का उपाध्यक्षसमेत हुन्। उनको पक्राउपछि वाइसीएल नेपाल लगायत विभिन्न पक्षले कडा कारबाहीको माग गर्दै आएका थिए।