धरान : नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान–१५ ले वडाभित्र रहेका जेष्ठ नागरिकहरूसँग संवाद कार्यक्रम आयोजना गरी उनीहरूको गुनासो तथा सुझाव संकलन गरेको छ।

जेष्ठ नागरिकहरूको समस्याको सुनुवाइसँगै पार्टीले शुक्रबार वृहत् भेला आयोजना गर्दै वडाको समग्र विकासका लागि राय सुझावसमेत मागेको हो।
एमाले निर्वाचन परिचालन कमिटी जेष्ठ नागरिक विभागका संयोजक रंगलाल गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ७० भन्दा बढी जेष्ठ नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता कार्यक्रम सुरु गर्ने श्रेय एमालेकै रहेको उल्लेख गर्दै सुनसरी–१ मा पार्टीलाई समर्थन गर्ने बताएका थिए।
धरान–१५ अमृत टोलका जेष्ठ नागरिक अमरबहादुर तामाङले मुलुकको हित र जेष्ठ नागरिकको संरक्षणका लागि एमालेको जित आवश्यक रहेको धारणा व्यक्त गरे । उनले युवा, विद्यार्थी, व्यवसायी तथा जेष्ठ नागरिकबीच एमालेका उम्मेदवार लोकप्रिय बन्दै गएको बताए ।
झण्डै १६ हजार मतदाता रहेको धरान–१५, धरान उपमहानगरकै सबैभन्दा बढी जनसंख्या भएको वडा मानिन्छ। यस वडामा विगतदेखि स्थानीय तहको निर्वाचनमा एमालेले जित हासिल गर्दै आएको छ !


