सुनसरी : इटहरीस्थित मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कूल ले विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
विद्यालयले बिराट मेडिकल कलेज एन्ड टीचिङ अस्पताल सँगको सहकार्यमा आयोजना गरेको उक्त एकदिने शिविरमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा ३०० भन्दा बढी विद्यार्थी र करिब १०० अभिभावक सहित झण्डै ८०० जनाको स्वास्थ्य परीक्षण गरिएको विद्यालयले जनाएको छ। परीक्षण अन्तर्गत सामान्य स्वास्थ्य जाँच, आँखाको परीक्षण, रक्तचाप (ब्लड प्रेसर), सुगर परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
शिविर सञ्चालनका लागि अस्पतालका अनुभवी चिकित्सकहरूको टोली खटिएको थियो। टोलीको नेतृत्व डा. किशोर अवस्थीले गर्नुभएको थियो भने अन्य स्वास्थ्यकर्मीहरू समेत सक्रिय रूपमा सहभागी थिए।
विद्यालयद्वारा जारी सूचनामा “विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्तो निःशुल्क शिविर आयोजना गरिएको” उल्लेख गरिएको छ।
यस कार्यक्रमले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र विकास र स्वास्थ्य लाई समेत समान प्राथमिकता दिएको स्पष्ट देखिन्छ। शिविरमा सहभागी अभिभावकहरूले पनि यस्तो अवसर प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन्।
विगत ३४ वर्ष देखि इटहरी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मोडर्न प्रिपरेटरी बिद्यालयले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा र स्वास्थ्यबीचको सम्बन्धलाई सुदृढ गर्दै आएको छ।


