अजेन्द्र वाईबा तामाङ
चैत २२, फिदिम । पाँचथरको फिदिममा N-PABSAN पाँचथरले आयोजना गरेको एक कार्यक्रमले आगामी दिनमा निजी विद्यालयहरूको हकहित, गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणकाको विषयमा जोड दिने निष्कर्ष निकालेको छ ।

संस्थाका कोशी प्रदेश अध्यक्ष कमल खनालको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रममा निजी तथा आवासीय विद्यालयहरूको अधिकार संरक्षणका लागि साझा आवाज निर्माण गर्ने, विद्यालयबीच सहकार्य र अनुभव आदान-प्रदानमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विषय केन्द्रित छलफल भएको थियो । कार्यक्रममा जिल्ला सदस्यहरु कृष्ण बस्नेत, उपेन्द्र तावाहाङ, प्रताप सेलिङ, पेम्बा केरुङ, बलबहादुर गुरुङ, घनेन्द्र राई, बिनु शेर्पा तथा गहेन्द्र लावोती को सक्रिय सहभागिता रहेको कार्यक्रमलाई डि वी गुरुङ ले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै जिल्लाभरका निजी विद्यालयहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गराई एकीकृत नेतृत्व र प्रभावकारी समन्वयमार्फत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसैगरी, शिक्षक तथा कर्मचारीको पेशागत विकासका लागि तालिम, कार्यशाला तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, स्थानीयदेखि संघीय तहसम्मको नीति निर्माण प्रक्रियामा निजी विद्यालयहरूको सहभागिता सुनिश्चित गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै उनीहरूको सर्वाङ्गिण विकास, अनुशासन, सीप तथा प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने विषयमा समेत छलफल भएको थियो। साथै, विद्यालय सञ्चालनमा पारदर्शिता, उत्तरदायित्व र सुशासन कायम गर्दै संस्थागत सुधार गर्दै अगाडि बढाउने कुरामा सहभागीहरूले जोड दिएका छन्।
उक्त कार्यक्रमले जिल्लामा निजी विद्यालयहरूको एकता, समन्वय र गुणस्तरीय शिक्षातर्फको प्रयासलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।


