सुनसरी : उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङडाँडामा पहिलो पटक आयोजना गरिएको ‘कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता–२०८२’ ले जिल्लामा साहसिक खेल पर्यटनको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको छ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघ जिल्ला समिति उदयपुरको आयोजनामा तथा कोशी प्रदेश पर्यटन कार्यालय धरानको प्रायोजनमा प्रतियोगिता बिहिवारबाट उद्घाटन गरिएको हो।
प्रतियोगितामा चार विदेशीसहित कुल ३५ जना पाइलट सहभागी छन्। उद्घाटनसँगै पहिलो चरणमा २८ जना पाइलटले तीन–तीन राउण्ड टेकअफ गरेका छन् भने दोस्रो चरणमा भोलि १२ जना पाइलट प्रतिस्पर्धामा उत्रने कार्यक्रम छ। फोर्थ राउण्ड सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
एक्युरेसी प्रतिस्पर्धामा निर्धारित ‘पिन पोइन्ट’ नजिक अवतरण गर्ने पाइलटलाई कम अंक दिइन्छ र सबैभन्दा कम अंक ल्याउने प्रतियोगी विजेता घोषित हुने व्यवस्था छ।
प्रतियोगितामा निर्णायकका रूपमा भारत (सिक्किम) का राजु राईसहित नेपालका सुरेन गुरुङ, विमल अधिकारी र भुपाल राउत रहेका छन्। प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ संघका जिल्ला अध्यक्ष इश्वरमान राईले जानकारी दिए।
यसैबीच, उदयपुरका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेको संघका केन्द्रीय सदस्य महेन्द्र राईले बताउनुभएको छ। रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी, चौदण्डीगढी नगरपालिकाको क्षेत्र, कटारी नगरपालिकाको महाभारत क्षेत्र तथा त्रियुगा नगरपालिकाका विभिन्न डाँडाहरू सम्भावनायुक्त स्थानका रूपमा पहिचान गरिएका छन्।
उदयपुरमा हाल दुई महिला र १६ पुरुष गरी १८ जना सोलो पाइलट सक्रिय छन्। पछिल्लो समय बेलका–८ मा सञ्चालनमा रहेको ‘फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कुल’ मा विदेशी पाइलटहरूको प्रशिक्षणका लागि आउने क्रमसमेत बढ्दो छ। नेपालसहित भारत, चीन तथा युरोपेली देशहरू स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड र पोर्चुगलका पाइलटहरू यहाँ प्रशिक्षण लिन आउने गरेका छन्।
उक्त स्कुलमार्फत आधारभूत पाइलट तालिम सञ्चालन हुँदै आएको छ, जसले उदयपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ।
प्याराग्लाइडिङ क्षेत्रको विकासका लागि स्थानीय तहहरूले पनि लगानी बढाएका छन्।
कटारी नगरपालिकाले २ लाख, त्रियुगा नगरपालिकाले ५ लाख, चौदण्डीगढी नगरपालिकाले १ लाख र बेलका नगरपालिकाले १८ लाख रुपैयाँ लगानी गरेका छन्।
यद्यपि, पूर्वाधार अभाव अझै चुनौतीकै रूपमा रहेको सोलो पाइलट भुपाल राउत बताउछ्न। टेकअफ र ल्यान्डिङ स्थलको व्यवस्थित विकास तथा स्पष्ट सरकारी नीति बने उदयपुर उत्कृष्ट प्याराग्लाइडिङ गन्तव्य बन्न सक्ने उनको भनाइ छ।



