प्रथम सेवा बिन्दु सेवा निरन्तरताका लागि धरान उपमहानगरको आग्रह



धरान : धरान उपमहानगरपालिकाले नगरवासीलाई उपलब्ध हुँदै आएको प्रथम सेवा बिन्दु सम्बन्धी स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन यसको निरन्तरताका लागि स्वास्थ्य बीमा बोर्डसँग अनुरोध गरेको छ।
उपमहानगरपालिकाले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमार्फत प्रवाह हुँदै आएको उक्त सेवामा केही समस्या देखिएको उल्लेख गर्दै सेवा निरन्तरता सुनिश्चित गर्न पहल गरेको जनाएको छ।
नगरपालिकाका अनुसार स्थानीयस्तरमै प्रथम सेवा बिन्दुको सेवा उपलब्ध गराउने उद्देश्यले नगर अस्पताल स्थापना तथा सञ्चालनको तयारी अघि बढाइएको छ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख अइन्द्र विक्रम बेघाले नगर अस्पताल सञ्चालन गर्ने योजना अघि सारेका छन्। तर केही स्थानीयहरुले नयाँ संरचना निर्माण भन्दा पुरानो अस्पताल नै पुन निर्माण गर्नुपर्ने माग राख्दै विरोध जनाइरहेका छन्।
यसै सन्दर्भमा आगामी २०८३ साल वैशाख १ गतेदेखि साविककै व्यवस्था अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै प्रथम सेवा बिन्दुको रूपमा सेवा प्रवाहलाई निरन्तरता दिन स्वास्थ्य बीमा बोर्डसँग औपचारिक अनुरोध गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ।
स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ।