किसानका प्राविधिक समस्या समाधान गर्न तरकारी बालीमा कलमी प्रविधि कार्यशाला गरिएको छ ।
कृषि व्यवसायमा आत्मनिर्भर, रोजगारीका अवसर र किसानले उत्पादन गरेको तरकारीमा भोग्दै आएका समस्याहरुलाई पहिचान सहित समाधान गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र नगरपालिका ९ मा रहेको सुन्दर कृषि फार्ममा दुई दिने प्रदेश स्तरीय ‘तरकारी बालीमा कलमी प्रविधि’ कार्यशाला गरिएको छ । कार्यशालामा तरकारी खेतिमा माटो, रोग, कीराबाट आइपर्ने समस्याहरुका बारेमा जानकारी गराइएको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वालिरोग वैज्ञानिक डा.रामबहादुर खड्काले बताए।
सोलुखुम्बुका कृषक पूर्णधन राईले अहिले पनि धेरै किसानहरु कृषि प्राविधिकको पहुँचभन्दा बाहिर रहेकाले सामान्य प्राविधिक जानकारी किसाहरुलाई नहँुदा उत्पादनको नाममा जथाभावि बढी मात्रामा रासायनिक विषादीको प्रयोग भइरहेकाले यसको नियन्त्रण गर्नका लागि कृषकहरुलाई चेतनामूलक तालिम दिनुपर्ने बताए ।
कोशी प्रदेश कृषि क्षेत्रको लागि उर्वर भूमि मानिदैँ आएपनि तीनै तहको सरकारले वैज्ञानीक खेति प्रणाली नअपनाउँदा कृषिले गति लिन नसकेको किसानहरुको भनाई छ ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषिमा प्रति दिन लागत बढ्ने तर, उत्पादनले राम्रो मूल्य नपाउँदा किसानको लगानी पनि नउठ्ने समस्या समेत बढ्दै गएको र तरकारी उत्पादनमा आकर्षण बढाउन माटो र तरकारीमा लाग्ने किरा, रोग नियन्त्र नै प्रमुख समस्या रहेको बराहक्षेत्र नगरपालिकाका किसान रघु चन्द्रवंशीले बताए ।
गाउँ घरमा व्यवसायिक तरकारी खेती, च्याउ खेती लगायत पशुपालन गर्ने क्रम बढेर गएपनि सामान्य प्रविधिक ज्ञान नहुँदा उत्पादन लागत नै उठाउन नसकिएको देउमाई नगरपालिकाका किसान सबिनबाबु श्रेष्ठ बताउछन ।
कार्याशालामा तरकारी खेतीमा जैविक र अजैविक तनावलाई न्यूनिकरण गर्न तरकारीको ग्राफ्टिङ प्रविधिका बारेमा प्रयोगात्मकरुपमै किसानहरुलाई तालिम सहित जानकारी गराइएको छ ।
तरकारी बालीका प्रमुख कीराहरु र तिनको व्यवस्थापन र तरकारीमा लाग्ने कीराहरु र त्यसको समस्या समाधानको बारे प्रयोगात्मक रुपमा किसानलाई तालिम समेत प्रदान गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक वरिष्ठ वैज्ञानिक डा.गोविन्द प्रसाद तिमिल्सिनाले जानकारी दिए ।
तरकारीका बोटमा लाग्ने कीराबाट तरकारीलाई कसरी जोगाउने र किरा लाग्न नदिने उपायबारे किसानलाई तालिम प्रदान गरिएको छ ।
पूर्वी नेपालका किसानहरुले भौग्दै आएको तरकारीका बोटमा लाग्ने गाँठे रोगका बारेमा प्रविधिक जानकारी पाएका छन् । गाँठे रोग व्यवस्थापनका बारेमा किसानका बारीमै गएर जानकारी र समस्या समाधान र तरकारी बालीमा माटोजन्य रोग व्यवस्थापका बारेमा किसानलाई जानकारी दिइएको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डा.सुरज बैद्यका बताए ।
तरकारी क्षेत्रमा नयाँ सोच, सीप तथा प्रविधिबारे किसानहरुमा चेतना बढाउन र किसानका प्रविधिक समस्याहरु पहिचान र समाधान बारे कार्याशाला प्रभावकारी भएको भन्दै युवाहरुलाई कृषि पेशामा आकर्षित गराउन र टिकाई राख्न प्रविधिक ज्ञानको खाँचो रहेको उनको भनाई छ ।
कार्याशालामा ग्राफ्टिङ प्रविधिका लागि नर्सरी तयारी, ऐनायरोबिक माटो डिसइन्फेस्टेसन अवायवि माटो निर्मलिकरण कलमी गर्नको लागि नर्शरी व्यवस्थापन, कलमी गर्ने व्यवहारिक र व्यापारिक संरचनाहरुको बारेमा विज्ञहरु बाट किसानलाई जानकारी गाराइएको थियो । कार्यशालामा कोशी प्रदेशका ३५ जना व्यवसायिक किसानहरुको सहभागिता थिए ।
कार्याशाला फिड द प्mयुचर इनोभेसन ल्याब फर हर्टिकल्चर परियोजना, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारले कोशी प्रदेश स्तरीय तरकारी बालीमा कलमी प्रविधि सम्बन्धी कृषक स्तर कार्यशाला गरेको छ । कार्यशालामा पूर्वी नेपालको इलाम, पाँचथर, झापा, तेह्रथुम, ताप्लेजुङ्ग भोजपुर, धनकुटा, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, उदयपुर, मोरङ्ग लगायतका जिल्लाबाट व्यवसयिक किसानहरुको उपस्थिति रहेको थियो ।