घण्टीको आडमा ‘डिजिटल प्रेम’को ठगी ? रास्वपा प्रवेश गरेका नेताका छोरा पक्राउ



झापा । सामाजिक सञ्जालमा ‘प्रेम’को नाटक मञ्चन गरेर लाखौं रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका एक युवकको घटनाले अहिले बिर्तामोड मात्र होइन, सिंगो जिल्लाको राजनीति र समाजलाई नै तरंगित बनाएको छ। पक्राउ पर्नेमा २३ वर्षीय विभूतजंग कार्की रहेका छन्, जो हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका स्थानीय व्यक्ति बलराम कार्कीका छोरा हुन्।

प्रहरीले उनलाई मंगलबार मेचीनगर स्थित एक सुधार गृहबाट नियन्त्रणमा लिएको हो। तर यो पक्राउ केवल एक युवकको गिरफ्तारी मात्र नभई ‘डिजिटल प्रेम’, शक्ति, पहुँच र राजनीतिक छायाँको जटिल कथा बनेको स्थानीयहरू बताउँछन्।

‘अष्ट्रेलियाकी युवती’को नाममा जाल, नेपालमै बसेर ठगी

अनुसन्धानमा संलग्न स्रोतका अनुसार विभूतजंगले क्यानडामा अध्ययनरत एक नेपाली युवालाई लक्षित गर्दै योजनाबद्ध रूपमा ठगीको जाल बुनेका थिए।

पहिले साथीको रूपमा विश्वास जिते। त्यसपछि अष्ट्रेलियामा अध्ययनरत युवतीसँग चिनजान गराइदिने बहानामा नक्कली फेसबुक र इन्स्टाग्राम आइडी बनाए। वास्तविक युवतीको फोटो प्रयोग गरियो, आवाज नक्कल गर्दै भ्वाइस म्यासेज पठाइयो, र ‘भावनात्मक सम्बन्ध’ निर्माण गरियो।

जब विश्वास पूर्ण रूपमा स्थापित भयो, तब सुरु भयो रकम माग्ने खेल।

“कलेज फी तिर्न समस्या भयो, सिधै विदेश पठाउन नमिल्ने भएकाले नेपालमै रहेको दाइको खातामा पठाइदिनुहोस्,” भन्दै रकम मागिएको थियो।

पीडितले विश्वास गरेर ३ लाख १५ हजार रुपैयाँ प्राइम कमर्शियल बैंक मा रहेको विभूतजंगकै खातामा पठाएका थिए।

पैसा पुगेपछि ‘प्रेम’ गायब, सत्य बाहिर

रकम खातामा पुगेको केही समयपछि एक्कासि फेसबुक र इन्स्टाग्रामबाट सम्पर्क विच्छेद गरियो। ब्लक गरिएपछि पीडितले शंका गर्दै खोजबिन सुरु गरे।

त्यसपछि खुल्यो—

न त त्यस्तो प्रेम थियो,

न त त्यस्तो युवती संलग्न थिइन्।

सबै नाटक एउटै व्यक्तिको—विभूतजंग कार्कीको—थियो।

प्रयोग गरिएको फोटो वास्तविक युवतीको भए पनि उनी र उनको परिवार यस घटनाबारे पूर्णतः अनभिज्ञ रहेको खुलेको छ।

‘छोरो बचाउन शक्ति प्रयोग ?’ पीडित परिवारको गम्भीर आरोप

घटनापछि पीडित परिवारले रकम फिर्ता माग्दै विभूतजंगका बुबा बलराम कार्कीलाई सम्पर्क गरेका थिए। तर सहयोग गर्नुको सट्टा उल्टै धम्की र दबाब आएको पीडित पक्षको आरोप छ।

पीडित परिवारका एक सदस्यले भने—

“हामी प्रमाण लिएर जाँदा पनि अस्वीकार गरियो, उल्टै हप्काइयो। न्याय माग्दा डर देखाइयो।”

प्रहरीमाथि पनि प्रश्न : किन ढिला भयो गिरफ्तारी ?

पीडित परिवारका अनुसार इलाका प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा सुरुमा मुद्दा दर्ता गर्न नै आनाकानी गरिएको थियो। लामो दबाब र संघर्षपछि मात्र २०८२ मंसिर २२ गते मुद्दा दर्ता भएको बताइएको छ।

अझ गम्भीर कुरा के भने—

अभियुक्त घरमै रहेको जानकारी हुँदाहुँदै पनि तत्काल पक्राउ नगरिएको आरोप छ।

स्थानीयहरू प्रश्न गरिरहेका छन्—

के यो केवल संयोग थियो, वा कसैको पहुँचको प्रभाव ?

राजनीति प्रवेशसँगै उठ्यो अर्को प्रश्न

स्थानीय राजनीतिक वृत्तमा बलराम कार्कीको हालै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशलाई पनि यो घटनासँग जोडेर हेरिएको छ।

घण्टी बजाउँदै नयाँ राजनीतिक यात्रा सुरु गरेका कार्कीको परिवार नै ठगी प्रकरणमा मुछिएपछि अहिले नैतिकता र पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन्।

स्थानीय विश्लेषकहरू भन्छन्—

“घण्टी न्यायको प्रतीक हो कि शक्ति संरक्षणको कवच ?”

अबको प्रश्न : प्रेमको नाममा ठगी, वा शक्तिको आडमा संरक्षण ?

यो घटना केवल ३ लाख १५ हजार रुपैयाँको आर्थिक ठगी मात्र होइन।

यो विश्वासको हत्या हो।

यो डिजिटल युगको नयाँ अपराधको नमुना हो।

र सम्भवतः—यो शक्ति र पहुँचको परीक्षण पनि हो।

प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

तर सर्वसाधारणको एउटै प्रश्न छ—

के यस प्रकरणमा साँच्चिकै न्याय हुनेछ, वा घण्टीको आवाजमै सत्य दबिनेछ ?