भुकम्पमा सालनाल सहित भेटिएकी बालिका पाल्न हजारौ इछुक।



पश्चिमउत्तर सिरियाको भुकम्प भग्नावशेषमुनि सालनालसहित फेला पारेकी बालिकाको नाम “आया” राखिएको छ। त्यसको अर्थ अरबी भाषामा ‘चमत्कार’ भन्ने हुन्छ। भूकम्पले घर भत्किँदा परिवारका अन्य सदस्यको मृत्यु भए पनि भर्खर जन्मिएकी यी बालिका भने जीवितै फेला परेकी थिइन।

जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्। सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका धर्म पुत्रीको रुपमा पाल्न हजारौँ मानिस अहिले इच्छुक छन।

जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो। उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो।

“उनी सोमवार यस्तो नराम्रो अवस्थामा आइपुगेकी थिइन् कि उनीलाई चोटपटक लागेको थियो, घाउहरू थिए। उनको शरीर चिसो थियो र उनलाई सास फेर्न गाह्रो भइरहेको थियो,” बालरोग विशेषज्ञ हानी मारुफले भने।अहिले उनको अवस्था स्थिर छ।

अयाको उद्धारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओमा एक व्यक्ति हातमा धुलोमा लतपत नवजात शिशु बोकेर भग्नावशेषमाथि कुदिरहेको देखिन्छ।

डाक्टरकी श्रीमतीले गराउँछिन् स्तनपान :
एक कुवेती टेलिभिजन प्रस्तोताले भने, “कानुनी प्रक्रियाले मलाई अनुमति दिन्छ भने म यी बालिकाको हेरचाह गर्न र उनलाई धर्मपुत्री बनाउन तयार छु।”

अस्पतालका प्रबन्धक खालिद अत्तियाले अयालाई पाल्न चाहने संसारभरिका कैयौँ मानिसले आफूलाई फोन गरेको बताएका छन्।

टर्की र सिरियामा आएका भूकम्पहरू किन विनाशकारी बने?
चिसोमा आफूलाई न्यानो राख्न सिरियाली शरणार्थीका जुक्ति
डा. अत्तियाले भने, “अहिले म कसैलाई पनि उनलाई धर्मपुत्री बनाउन दिनेछैन। उनका टाढाका नातेदारहरू नआएसम्म म उनलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्छु।” उनकी छोरी ती बालिकाभन्दा चार महिना जेठी छिन्।

अहिलेको लागि उनकी श्रीमतीले उनलाई आफ्नै छोरीसँगै स्तनपान गराइरहेकी छिन्। अयाको गृहनगर जेन्देअरिसमा मानिसहरूले भत्किएका भवनहरूमा अझै पनि आफ्ना प्रियजनहरूको खोजी गरिरहेका छन्।