अजेन्द्र वाईबा तामाङ
पाँचथर, असोज २५। पाँचथरको फिदिम नगरपालिका–१३, चाम्लिङडाँडामा आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय मोहन चाम्लिङका दुवै घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।
लुङरुपा प्रहरी चौकी, जल्पाका अनुसार शनिबार दिउँसो १ः३० बजे घरमा कोही नभएको समयमा विद्युत् सर्ट भई आगलागी भएको हो। काठले बनेका र टिनको छाना भएका तीन कोठे घरसहित अर्को घरमा आगलागी हुँदा दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएका हुन्। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, खाना पकाउने भाँडाकुँडा, ओढ्ने-ओछ्याउने सामग्री, सरकारी कागजात तथा सामाजिक सुरक्षा भत्ताको कार्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।
आगलागीबाट शरीरमा लगाएको लुगाबाहेक अन्य कुनै पनि सामान बाँकी नरहेको जनाइएको छ। घरमा कोही नभएको समयमा आगलागी भएकाले घरभित्रका सम्पूर्ण सामग्री नष्ट हुँदा पीडित परिवार बिचल्लीमा परेको छ। घटनाबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


