बिर्तामोड प्रहरीद्वारा अनलाइन ठगीमा गुमेको १३ लाख बढी रकम फिर्ता



झापा। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडले अनलाइन ठगी तथा सामाजिक सञ्जाल ह्याकिङबाट गुमेको १३ लाख ११ हजार ६ सय रुपैयाँ पीडितलाई फिर्ता गराएको छ।

विभिन्न प्रलोभन, सामाजिक सञ्जाल ह्याकिङ तथा प्रविधिको दुरुपयोग गरी डिजिटल माध्यमबाट ठगीमा परेका पीडितले प्रहरीमा दिएको उजुरी तथा निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले बैंकिङ प्रणाली, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित डिजिटल वालेटसँग समन्वय गरी ठगीमा प्रयोग भएका खाताहरू रोक्का गराएको थियो। सोही प्रक्रियामार्फत पीडितको १३ लाख ११ हजार ६ सय रुपैयाँ सम्बन्धित व्यक्तिकै खातामा फिर्ता गराउन प्रहरी सफल भएको हो।

बिर्तामोड प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली खाता बनाएर, चिठ्ठा तथा उपहारको प्रलोभन देखाएर र ओटीपी तथा पासवर्ड चोरी गरी सर्वसाधारणलाई ठगी गर्ने क्रम बढ्दै गएको छ।

प्रहरीले यस्ता घटनामा उजुरी प्राप्त हुनासाथ प्राविधिक अनुसन्धानलाई प्राथमिकता दिँदै आएको जनाएको छ। साथै, अनलाइन ठगीबाट बच्न अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, ओटीपी तथा पासवर्ड कसैलाई नदिन र सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।