झापा । अर्जुनधारा नगरपालिका–११ स्थित चियाबगान क्षेत्रमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब १:३० बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उक्त क्षेत्रमा छापा मारेको थियो।
प्रहरीका अनुसार, घटनास्थलबाट प्लास्टिक बाहेक २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गरिएको छ। मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त परिमाण पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा:
- बिर्तामोड नगरपालिका–३ बस्ने २२ वर्षीय विश्व राजवंशी
- अर्जुनधारा नगरपालिका–४ बस्ने २६ वर्षीय सनम खड्का
- अर्जुनधारा नगरपालिका–५ बस्ने २९ वर्षीय ध्रुवकुमार दनुवार
- अर्जुनधारा नगरपालिका–११ बस्ने २९ वर्षीय मन्दिप राई
- सोही स्थानका ३४ वर्षीय उमेश तामाङ रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।


