प्रतिबन्धित औषधीसहित दमकका एक युवक झापाबाट पक्राउ



झापा । झापामा प्रहरीले प्रतिबन्धित औषधीविरुद्धको अभियानलाई तीव्र बनाइरहेका बेला लागूऔषधजन्य प्रतिबन्धित ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् ।

अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ स्थितमा विशेष चेकजाँच तथा निगरानी गर्ने क्रममा दमक नगरपालिका–२ निवासी सुमन थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका थापाको साथबाट ५ सय ८९ चक्की प्रतिबन्धित औषधी बरामद गरिएको छ । शंकास्पद गतिविधिका आधारमा रोकि खानतलासी गर्दा उक्त परिमाणमा औषधी फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।