धरान ः नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए ।

त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् ।
खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई क्रमश रु.४० हजार,२५ हजार र १५ हजार पुरस्कारसहित मेडल प्रदान गरिएको छ ।
टिमतर्फ अरुण जालारी, अञ्जन कुँवर, पवन परियार र रिकी पोडेको टि प्रथम भएका छन् भने । युवराज सुनुवार, सुमनजङ थापा, विष्णु तिमल्सिना र रोशन बस्नेतको टोली दोस्रो साथै कृष्णबहादुर क्षेत्री, अमन थापा र विष्णु कार्कीको टोली तेस्रो भएको छ । प्रथम, द्वितीय र तृतीय टोलीले क्रमश रु.५० हजार, रु ३० हजार र रु.२० हजार पुरस्कार प्राप्त गरेका छन् ।
एक्युरेसी नेसनल महिलातर्फ ईक्सा राई प्रथम हुँदै रु.३० हजार, विद्या राई दोस्रो हुँदै रु.२० हजार र देवकीमाया सुनुवार तेस्रो हुँदै रु.१० हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी, एक्युरेसी नेसनल पुरुषतर्फ अमन थापा प्रथम हुँदै रु.३० हजार, सागर नेपाली दोस्रो हुँदै रु.२० हजार तथा पवन परियार तेस्रो हुँदै रु.१० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष चाम्लिङले बताए । यही बैशाख २५ गतेबाट सञ्चालन भएको प्रतियोगिता भारत र नेपाल गरी जम्मा ३२ खेलाडीहरुको सहभागिता रहेको थियो । तीमध्ये चार जना महिला खेलाडी सहभागी थिए ।


