अजेन्द्र वाईबा तामाङ
असोज १६, शुक्रबार पाँचथर । पाँचथर प्रहरीले अनलाइन कारोबारका क्रममा अपरिचित व्यक्ति वा स्रोतबाट प्राप्त हुने फोन, म्यासेज, लिंक तथा सामाजिक सञ्जालका सूचनामाथि तत्काल विश्वास नगर्न आग्रह गरेको छ। हिलिहाङ गाउँपालिका–५, चतुरेस्थित जोरपोखरी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले कारोबार वा सूचना प्राप्त भएपछि आवश्यक ‘भेरिफिकेसन’ गरेर मात्र अघि बढ्न नागरिकलाई सुझाव दिनुभएको हो।
जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा हिलिहाङ गाउँपालिकाको सहकार्यमा नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीयस्तरमा देखिएका समस्या, गुनासा तथा शान्ति सुरक्षासम्बन्धी विषयमा नागरिक र सम्बन्धित अधिकारीबीच प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिएको थियो। प्रहरी नायब उपरीक्षक कर्णले पछिल्लो समय डिजिटल कारोबारको विस्तारसँगै अनलाइन ठगी तथा साइबर अपराधका स्वरूपसमेत परिवर्तन हुँदै गएकाले नागरिकमा साइबर सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले अनलाइन कारोबार गर्दा अपरिचित व्यक्ति वा स्रोतबाट आउने फोन, म्यासेज, लिंक तथा सामाजिक सञ्जालका सूचनाप्रति विशेष सतर्क रहन आग्रह गर्नुभयो। व्यक्तिगत विवरण, ओटीपी, पासवर्ड तथा बैंकिङसम्बन्धी संवेदनशील जानकारी कसैलाई पनि नदिन उहाँले सुझाव दिनुभयो।
‘भेरिफिकेसन’ नगरी कुनै पनि लिंक खोल्ने, रकम पठाउने वा संवेदनशील विवरण उपलब्ध गराउँदा साइबर ठगीमा पर्न सक्ने भएकाले कारोबारअघि प्राप्त सूचना र व्यक्तिको पहिचान सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।
शान्ति सुरक्षादेखि भूमिहीन समस्यासम्म छलफल
नागरिक सुनुवाई कार्यक्रममा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, अनलाइन ठगी, साइबर सचेतना, भूमिहीन तथा अव्यवस्थित बस्ती लगायत स्थानीय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्थानीयवासीले आफूहरूले भोग्दै आएका समस्या, गुनासा तथा सरोकारका विषय सम्बन्धित अधिकारीसमक्ष राखेका थिए। नागरिकबाट उठाइएका सवाल तथा सुझावलाई सम्बन्धित निकायमार्फत सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता अधिकारीहरूले जनाएका थिए।
कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, हिलिहाङ गाउँपालिकाका अध्यक्ष सम्वर अधिकारी, उपाध्यक्ष सुमित्रा सेडाई, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णलगायत जनप्रतिनिधि, स्थानीय नागरिक, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
नागरिक, प्रशासन तथा सुरक्षा निकायबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्दै स्थानीय समस्या पहिचान र समाधानका लागि सहकार्य बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय र राज्यका निकायबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


