अजेन्द्र वाईबा तामाङ
असोज ५, सोमबार, फिदिम। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका गतिविधि बढ्न थालेका छन्। देउवा निकट समूहले सदरमुकाम फिदिममा सम्पर्क कार्यालय स्थापना गरेको छ भने अर्को पक्षले जिल्लाका ६० वटै वडामा पार्टीको नेतृत्व सर्वसम्मत चयन भइसकेको जनाएको छ।
फिदिम बजारको शनिबारेस्थित यसअघि नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको भवनमा स्थापना गरिएको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डेकेन्द्रकुमार तामाङले बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर गरेका हुन्।
कार्यालय उद्घाटनका क्रममा कांग्रेसका पूर्व उपसभापति जयप्रसाद रिजालले गमलामा पानी हालेका थिए भने क्षेत्रीय प्रतिनिधि यशोदा थापाले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।
कार्यक्रममा कुम्मायक गाउँपालिका तरुण दलका नेता खगेन्द्र सोडारी, सरोज बोम्जन, नरबहादुर तामाङ तथा कांग्रेस नेता मुक्ति तिम्सिनालगायतको उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालय स्थापना भएसँगै १५औँ महाधिवेशनका लागि जिल्लामा संगठनात्मक गतिविधि तथा तयारीलाई थप तीव्र बनाउने बताइएको छ।
कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गतेदेखि, गाउँ/नगरपालिका अधिवेशन असोज २० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते हुने जनाइएको छ।
यसैबीच, नेपाली कांग्रेस पाँचथरको अर्को पक्षले जिल्लाका ६० वटै वडामा पार्टीको नेतृत्व सर्वसम्मत चयन भइसकेको दाबी गरेको छ। वडा तहको नेतृत्व चयन सम्पन्न भएसँगै आगामी अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको उक्त पक्षले जनाएको छ।
पाँचथरमा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नो तहबाट तयारी अघि बढाएका छन्। सम्पर्क कार्यालय स्थापना, वडा तहको नेतृत्व चयन तथा संगठनात्मक भेटघाटका गतिविधिले जिल्लामा महाधिवेशनको चहलपहल बढेको छ।


