धरान ः धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरी दुई क्विन्टल गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान करिब ३ः०० बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुई वटा स्कार्पियो गाडीमा २ क्विन्टल ९ किलो ४२० ग्राम गाँजा लोड गरिएको अवस्थामा गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सुचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी का ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खसहित बा १ च ५०३८ तथा को १ च ८१८२ नम्बरको र बा १ च ५०३८ नम्रका दुई वटा स्कार्पियो गाडी बरामद गरिएको सुचना अधिकारी खड्काले बताए ।
पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


