धरान : सप्तकोशी नदीमा भएको यात्रुबाहक जेटबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई दुर्घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
कात्तिक ८ गते आइतबार धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा यात्रुबाहक जेटबोट दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएकाप्रति मन्त्रिपरिषद् बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बताए ।
उहाँका अनुसार बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । त्यस्तै, कोशी प्रदेश समन्वयात्मक पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।


