बिर्तामोडमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, ब्राउन सुगरसहित युवक पक्राउ



झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित एक युवक प्रहरीको नियन्त्रणमा परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–३, मेदिबुङका २५ वर्षीय बविस भण्डारी रहेका छन्। उनी हाल बिर्तामोड–५ स्थित याकथुम्बा होटलमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ।

प्रहरीका अनुसार आइतबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णकुमार मण्डलको नेतृत्वमा खटिएको टोलीले भण्डारी बस्दै आएको कोठामा खानतलासी गरेको थियो। सो क्रममा प्लास्टिकसहित ५ ग्राम ८३० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम १ मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ।

बरामद लागूऔषधसहित पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाइएको छ।