धरान : सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीस्थित मंगल चोकबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गएराति करिब ९ बजे स्थानीय २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर रसाइलीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेइन ३६२ ट्याब्लेट बरामद भएको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


