बराहक्षेत्रबाट भरुवा बन्दुकसहित एक जना पक्राउ



धरान ः बराहक्षेत्र नगरपालिका–१ बाट एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

घरमा हातहतियार लुकाइछिपाइ राखेको छ भन्ने विशेष सुचनाका आधारमा बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोलका ५० वर्षीय मंगल सिंह राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईको घरमा खानतलासी गर्ने क्रममा भान्सा कोठाको सिलिङमा लुकाइछिपाइ राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको सुचना अधिकारी खड्काले जानकारी दिए ।

भरुवा बन्दुकसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।