इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते बुधबार इटहरीमा हुने भएको छ ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा इटहरी रङ्गशालामा लाइभ कन्सर्ट कार्यक्रम हुन लागेको आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्यान्डका सदस्यले विशेष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवर्द्धनमा आयोजना हुन लागेको उक्त कार्यक्रमले पूर्वी नेपालमा सांगीतिक पर्यटनको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले बताए ।
।
नेपाली मौलिक सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल नेपथ्यको प्रस्तुति हेर्न कोशी प्रदेशका विभिन्न जिल्लासहित आसपासका क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु, आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु र स्थानीय होटल, यातायात, व्यापार तथा व्यावसायिक गतिविधिलाई चलायमान बनाउनु रहेको प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था तथा कार्यक्रमस्थल व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।


