झापा । अपराध अनुसन्धान, फरार प्रतिवादीको खोजी तथा जिल्लाको शान्तिसुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले उनको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता र प्रहरी सेवामा देखाएको सक्रियताको मूल्याङ्कन गर्दै ‘पुलिस अफ द मन्थ’ का रूपमा छनोट गरेको हो ।
प्रहरी निरीक्षक भट्टराईले आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा विभिन्न प्रकृतिका आपराधिक घटनाको अनुसन्धानलाई प्राथमिकता दिँदै आएका छन् । हराएका तथा बेपत्ता व्यक्तिको खोजी, अपहरण तथा शरीर बन्धकका घटनाको अनुसन्धानदेखि लागूऔषध कारोबार, चोरी तथा अन्य आपराधिक गतिविधिको अनुसन्धानमा उनले भूमिका निर्वाह गरेका छन् ।
विशेषगरी घटनाको वास्तविकता पत्ता लगाउने, संलग्न व्यक्तिको पहिचान गर्ने, फरार प्रतिवादीलाई पक्राउ गर्ने र पुराना घटनासमेत पुनः अनुसन्धानको दायरामा ल्याउने कार्यमा उनको सक्रियता रहेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
प्रहरी संगठनभित्र कार्यक्षमता र योगदानका आधारमा प्रदान गरिने उक्त सम्मानले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र प्रेरित बनाउने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले २०८३ साल असोज महिनाको कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रहरी निरीक्षक भट्टराईलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।


