धनकुटा । किरात राई यायोक्खाको भातृ संगठन ‘किरात राई युवा संघ’ धनकुटाको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। अधिवेशनले केशव राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
बुधबार सुम्निमा–पारुहाङको सभाहलमा आयोजित अधिवेशन किरात राई युवा संघका केन्द्रीय अध्यक्ष जोन खालिङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा चोलेन्द्र राई, सचिवमा सुवास राई, सहसचिवमा विध्यम राई र कोषाध्यक्षमा बिनिता राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अर्जुन राई, अविना राई, प्रिया राई, अविनाश राई, नगेन्द्र राई र सुदिप राई चयन भएका छन्।
नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि तथा संघको केन्द्रिय अध्यक्ष जोन खालिङ्ले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । किरात राई समुदायका युवाहरूलाई संगठित गर्दै भाषा, संस्कार, संस्कृति, पहिचान तथा सामाजिक एकताका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित गठित जिल्ला कार्यसमितिले आगामी दिनमा संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने नव निर्वाचित अध्यक्ष राईले बताए ।


