धरानमा बरामद पदार्थ विस्फोटक भएको पुष्टि,तीन जना नियन्त्रणमा



धरान ः धरानमा मिनी ट्रकबाट बरामद गरिएको ४७ किलोग्राम पदार्थ विस्फोटक भएको पुष्टि भएको छ । उक्त पदार्थसहित नियन्त्रणमा लिइएका तीन जनामाथि प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।
धरान उपमहानगरपालिका–८ स्थित तिनकुने धरान चेकपोस्टमा यही कात्तिक १० गते साँझ ६ः३० बजे इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको थियो ।
प्रहरीका अनुसार मिनी ट्रकमा अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको सेतो ठोस पदार्थ ४७ किलो बरामद गरिएको थियो । उक्त पदार्थसहित मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
बरामद पदार्थ परीक्षणका लागि तालुक नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला,सामाखुसी काठमाडौँ पठाइएकोमा परीक्षण प्रतिवेदनले आज उक्त पदार्थ कम्पोनेन्ट अफ लो एक्सप्लोसिभ (गन पाउडर÷ब्ल्याक पाउडर) भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकामा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह ,जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन् ।
उनीहरूमाथि यस अघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । परीक्षण प्रतिवेदनबाट उक्त पदार्थ विस्फोटक भएको पुष्टि भएपछि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।